घट्यो नेपाली बजारमा प्याजको मूल्य

काठमाण्डु टुडे २०७६ माघ २९ गते १२:१८ मा प्रकाशित

काठमाण्डु , २९ माघ—नेपाली बजारमा प्रतिकेजी २ सय ५० रुपैंया सम्म पुगेको प्याजको मुल्यमा भारी गिरावट आएको छ ।

अहिले प्रतिकेजी प्याजको मुल्य १ सय रुपैंयामा भन्दा तल झरेको छ । उपत्यकाकै सबैभन्दा ठूलो तरकारी बजार कालिमाटी तरकारी तथा फलफूल बजारमा गत आइतबारदेखि प्रतिकेजी खुद्रा प्याजको मूल्य ९० देखि एक सय रुपैयाँ रहेको छ।

त्यस्तै प्याजको थोक मूल्य पनि प्रतिकेजी ७२ देखि ७५ रुपैयाँसम्म रहेको कालिमाटी बजारको सूचनामा उल्लेख छ।गत सिजनमा भारतमा प्याजको उत्पादनमा कमी आएपछि प्याजको मूल्य बढेको थियो। त्यसमा पनि विदेश निर्यातमा प्रतिवन्ध लगाएपछि भारतमा निर्भर नेपाली प्याजको बजारमा मूल्य आकासिएको थियो।

त्यतिबेला चिनियाँ प्याजको केही मात्रामा आयत भएपनि मूल्य भने घटेको थिएन। नेपालमा उपभोग गरिने ९० प्रतिशतभन्दा बढी प्याज भारतबाट आउने गरेको बताइन्छ।प्याजको सिजन सुरु भएसँगै मूल्य पनि घटेको हो। फेब्रुअरीदेखि बजारमा नयाँ प्याज आउँछ। यो वर्ष उत्पादन बढेकाले पनि मूल्य सुधार देखिएको छ।

तर भारतले नेपालमा प्याजको आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको नभएपनि खुकुलो भने भएको कालिमाटी तरकारी तथा फलफूल बजारमा उपनिर्देशक विनय श्रेष्ठ बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us