ओमानसँग नेपाल पराजित

काठमाण्डु टुडे २०७६ माघ २६ गते १६:३९ मा प्रकाशित

काठमाण्डु , २६ माघ — आईसीसी विश्वकप क्रिकेट लीग–२ को त्रिकोणीय श्रृंखलामा नेपाल घरेलु भूमिमा ओमानसँग दोस्रो खेलमा पनि पराजित भएको छ।
टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भयो।टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ओमानलाई २५० रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिंग गरेको ओमानले ४७ ओभर २ बलमा २ विकेट गुमाएर नेपाललाई दोस्रो पटक घरेलु भूमिमा स्तब्ध बनायो।

ओमानका लागि एकिब इलिएसले १०९ रन बनाए। यस्तै कप्तान जिशन मक्सुदले ६८ रन बनाए। इलिएसले नेपालीको इनिंग ध्वस्त पार्नेक्रममा ४ विकेट पनि लिएका थिए। बलिंग र ब्याटिंग दुबैमा चम्किएका इलिएस ३८ रनमा हुँदा जीवनदान पाएका थिए। करण केसीको बलमा आरिफ शेखले उनको क्याच छोडेका थिए। नेपाललाई त्यसपछि विकेट लिने मौका नै मिलेन।
ेयसअघि नेपालले तुलनात्मक रुपमा सुधारिएको ब्याटिंग गरेको थियो। ओपनर ज्ञानेन्द्र मल्ल र सुवाष खकुरेलले पहिलो विकेटका लागि ४८ रन जोडेका थिए। तर स्लो ब्याटिंग गरेको नेपालले सुधारिएको ब्याटिंग गर्दा पनि चुनौतिपूर्ण स्कोर भने खडा गर्न सकेन। नेपालले ८ विकेटमा २४९ रन बनाएको थियो।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाए। पारस खड्काले ३८, विनोद भण्डारीले ३५, कुशल मल्लले २८, आरिफ शेखले २८, सुवास खकुरेलले २२, करण केसीले १०, सन्दिप लामिछानेले १० र कमल सिंह ऐरीले ९ रन बनाए। ओमनका लागि अकिब इल्यासले ४ र मोहम्मद नदीमले ३ विकेट लिए ।
जारी श्रृंखलाको पहिलो खेलमा पनि नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो। जारी श्रृंखलामा ओमानले आफ्ना तीन वटै खेल जितेको छ भने नेपालले एक जित हात पारेको छ। अमेरिका भने दुबै खेलमा पराजित भएको छ।
अब नेपालले अमेरिकासँग खेल्न बाँकी छ। उता ओमानले पनि अमेरिकासँग खेल्न बाँकी छ। आइतबारको नतिजापछि ओमान लीग–२ को शीर्ष स्थानमा उक्लिएको छ। ओमानको ९ खेलमा ७ जितसहित १४ अंक भएको छ। उता अमेरिका भने दोस्रो स्थानमा झरेको छ। उसको १२ अंक छ। पुछारबाट दोस्रो स्थानमा रहेको नेपालको ३ खेलबाट २ अंक छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us