ओमानद्वारा नेपाल समक्ष १९८ रनको लक्ष्य प्रस्तुत

काठमाण्डु टुडे २०७६ माघ २२ गते १३:१७ मा प्रकाशित

काठमाण्डु,२२माघ–ओमानले आईसीसी लिग डिभिजन २ प्रतियोगिताको पहिलो खेलमा नेपाल समक्ष १९८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कुनै समय ५७ रनमै पाँच विकेट लिएर नेपालले दबाब बनाएपनि ओमानका मध्यक्रमका ब्याट्सम्यान मोहम्मद नदीमले उत्कृष्ट ब्याटिङ्ग गर्दै टोलीलाई औसत योगफलसम्म पुर्याए । नदीमले अविजित रहँदै ६९ रनको योगदान दिए । उनले पाँच चौका र दुई छक्का लगाए ।
ओमानका लागि सन्दीप गौडले दोस्रो सर्वाधिक ३३ तथा नसिम खुशीले २८ रनको पारी खेले । बिलाल खान नदीमसँगै ८ रन बनाएर अविजित रहे ।

नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ्ग गर्दै नौ ओभरमा मात्र ४७ रन खर्चेर चार विकेट लिए । नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा सहभागी भएका सुशन भारीले १० ओभरको स्पैलमा मात्र १४ रन खर्चेर महत्वपूर्ण तीन विकेट लिए ।

दिपेन्द्रसिंह ऐरीले एक विकेट लिए । सन्दीप लामिछानेले दश ओभर बलिङ्ग गरेपनि विकेटविहीन बन्न पुगे । पारस खड्काले सात ओभर बलिङ्ग गरेपनि ३० रन खर्चिदा कुनै विकेट हात पार्न सकेनन् । अविनाश बोहराले नौ ओभरमा ३८ रन खर्चिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us