हिमालयन शेर्पालाई हराउँदै थ्री स्टार तेस्रो स्थानमा उक्लियो

काठमाण्डु टुडे २०७६ माघ ९ गते १६:४७ मा प्रकाशित

काठमाण्डु,९माघ–थ्री स्टार क्लबले सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबालाई हराएको छ ।

जितसँगै थ्री स्टार क्लब लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
दशरथ रङ्गशालामा सम्पन्न खेलमा थ्री स्टारले हिमालयन शेर्पामाथि ३–१ को जित हात पारेको छ । थ्री स्टारको जितमा सुशील राई, सञ्जोक राई र वासीयु ओलादिरानले एक एक गोल गरे । हिमालयन शेर्पाका लागि स्टिफन समीरले शान्त्वना गोल गरे ।

खेलको छैठौं मिनेटमा सुशील राईको गोलमा थ्री स्टारले १–० को अग्रता लियो । पहिलो हाफको इन्ज्युरी समयमा स्टिफनले गोल फर्काउँदै खेल १–१ को बराबरीमा ल्याए । लगत्तै सन्जोक राईले थ्री स्टारका लागि गोल थप्दै अग्रतालाई २–१ पारे ।

दोस्रो हाफको सुरुमै वासीयु ओलादिरानले गरेका गोल नै थ्री स्टारलाई ३–१ को जित दिलाउन पर्याप्त भयो । जितसँगै थ्री स्टारले १४ अङ्कसहित तेस्रो स्थानमा उक्लिएको छ । शिर्षस्थानमा रहेको त्रिभुवन आर्मीको १७ अङ्क रहेको छ ।

थ्री स्टारले आठ खेलमध्ये चारमा जित, दुई बराबरी र दुईमा हार बेहोरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us