एजेन्सी–क्यासेमिरोले दुई गोल गरेपछि सेभिल्लामाथि जित हात पार्दै रियल मड्रिड स्पैनिस ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । रियलभन्दा एक खेल कम खेलेको बार्सिलोना भने दोस्रो स्थानमा झरेको छ ।
घरेलु मैदान सान्टियागो बर्नबेउमा शनिबार अबेर राति सम्पन्न खेलमा रियलले सेभिल्लामाथि २–१ को जित निकाल्यो । जितसँगै रियलले २० खेलबाट ४३ अङ्क जोडेको छ । बार्सिलोनाले भने १९ खेलबाट ४० अङ्क जोडेको हो ।
बार्सिलोनाले आज राति ग्रनडासँग खेल्दैछ । उक्त खेलमा जित हात पारे बार्सिलोना फेरी अङ्कतालिकाको शिर्ष स्थानमा उक्लिनेछ । बराबरी वा पराजित भए दोस्रो स्थानमा यथावत रहनेछ ।
पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएपछि दोस्रो हाफमा रियलका लागि क्यासेमिरोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । ५७ औं मिनेटमा उनले लुका जोभिकले चलाखीपूर्ण रुपमा पछाडि धकेलेको बललाई दिशा दिदै गोलमा परिणत गरे । ६४ औं मिनेटमा सेभिल्लाका स्ट्राइकर लुक डे जोङ्गले बराबरी गोल गरे ।
लुकास भाजक्वेजको क्रसलाई गोलमा परिणत गर्दै क्यासेमिरोले रियललाई
जित मात्रै दिलाएनन् बरु तालिकाको शिर्ष स्थानमा उकास्न सफल भए ।
तेस्रो स्थानको एटलेटिको मड्रिड शनिबार सम्पन्न खेलमा ऐबरसँग २–० ले पराजित हुँदै शिर्ष स्थानको रियलभन्दा आठ अङ्क पछाडि परेको छ ।