सागको पुरुष फुटबलमा नेपाल र श्रीलंकाबीच १–१ को बराबरी

काठमाण्डु टुडे २०७६ मंसिर १८ गते १९:२१ मा प्रकाशित

काठमाण्डु,१८मंसिर– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल र श्रीलंकाले १–१ गोलको बराबरी खेलेका छन् ।

पहिलो हाफमा नै पेनाल्टी मार्फत गोल गरेर नेपालले अग्रता लिएपछि खेलको अतिरिक्त समयमा आएर श्रीलंकाले गोल फर्काउँदा खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

खेलको ३५ औं मिनेटमा नेपालका अनन्त तामाङलाई श्रीलंकाका खेलाडीले पेनाल्टी क्षेत्रमा फाउल गरेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो ।

उक्त पेनाल्टी प्रहार गर्न आएका कप्तान सुजल श्रेष्ठ विपक्षी टोलीका गोलकिपरलाई छकाउँदै गोल गर्न सफल भएका थिए ।

खेलको ९० औं मिनेटको समयसम्म नेपाल १–० ले अगाडि रहेपनि थपिएको ४ मिनेटको समयमा श्रीलंकाका एमएस मोहम्मद साहिलले गोल फर्काए ।
१–१ गोलको बराबरीसँगै बुधबारको खेलबाट दुवै टोलीले समान १–१ अंक बाँडेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us