वार्नरको २२‌‌‌औं टेस्ट शतक

काठमाण्डु टुडे २०७६ मंसिर ७ गते १७:५१ मा प्रकाशित

एजेन्सी–पाकिस्तानविरुद्धको पहिलो टेस्ट क्रिकेटमा अस्ट्रेलियन ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेका छन्।

दोस्रो दिन शुक्रबारको खेल समाप्त हुँदासम्म अस्ट्रेलियाले पहिलो पालीमा ७२ रनको अग्रता लिइसकेको छ। अस्ट्रेलियाले पहिलो पालीमा केवल एक विकेट गुमाएर तीन सय १२ रन बनाइसकेको छ।

टस जिती पहिले ब्याटिङ रोजेको भ्रमणकारी टोली पाकिस्तान भने आफ्नो पहिलो पालीमा केवल दुई सय ४० रनमा समेटिएको थियो। अस्ट्रेलियाका लागि ओपनर ब्याट्सम्यान डेभिड वार्नर अविजित एक सय ५१ रन बनाउँदै क्रिजमा छन्।

उनले दुई सय ६५ बलको सामना गरी १० चौका हिर्काइसकेका छन्। ३३ वर्षीय वार्नरको यो २२औं टेस्ट शतक हो।
वार्नर र जोय बर्नसले ओपनिङ विकेटका लागि दुई सय २२ रनको साझेदारी गरे।

बर्नस केवल तीन रनका कारण पाँचौं टेस्ट शतक पूरा गर्नबाट चुके। ३० वर्षीय बर्नसले एक सय ६६ बलको सामना गरी १० चौकाको मद्दतले ९७ रन बनाए। उनी पाकिस्तानी बलर यासिर शाहको बलमा बोल्ड भएका थिए।
अस्ट्रेलियाका मार्नस लाबुसचाग्ने अविजित ५५ रन बनाउँदै क्रिजमा छन्। ९४ बलको सामना गरेका उनले ६ चौका हिर्काइसकेका छन्। टेस्ट क्रिकेटमा यो उनको छैटौं अर्धशतक हो।

पाकिस्तानी बलर नसिम शाहले यही प्रतियोगितामार्फत टेस्ट क्रिकेटमा ‘डेब्यु’ गरेका छन्। उनले हालसम्म १६ ओभर बलिङ गरेर ६५ रन खर्चिए पनि विकेट भने लिन सकेका छैनन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us