कोइरालाबाट धोका खाएपछि आफ्नै गुट बनाउँदै पौडेल

काठमाण्डु टुडे २०७१ वैशाख १६ गते १:३१ मा प्रकाशित

काठमाण्डु, १६ वैशाख– काँग्रेस उपसभापति रामचन्द्र पौडेल संविधानसभाको समस्यौदा समिति सभापतिका आकांक्षी थिए ।
Ramchandra-Paudelशीर्ष नेतामध्ये एकले नेतृत्व लिने भनिएकाले पार्टीभित्रै उनैको नाम चर्चामा थियो । तर निर्णय गर्दा प्रधानमन्त्री सुशील कोइरालाले पौडेललाई नभई महामन्त्री कृष्णप्रसाद सिटौलालाई छाने । र सिटौला नै सभापति भए । कोइरालाले संसदीय दलको चुनावमा पौडेललाई बसाउँदा कार्यबाहक सभापति दिने दिने बताएका थिए ।

त्यसअनुसार कोइराला प्रधानमन्त्री बनेको केही दिनमै पौडेलले कार्यवाहक सभापतिको जिम्मेवारी मागे । पौडेलले कोइरालालाई ११ माघमा संसदीय दलको कार्यालयमा भएको सहमति पनि अवगत गराए । तर कोइरालाले हस्ताक्षर नभएको त्यस्तो सहमति नमान्ने स्पष्ट संकेत गर्दै भने, ‘तपाईं उपसभापति हो ।

पार्टीका सबै काम तपाईंले नै गर्दै जानुस् ।’ अहिले पौडेलले आफ्नो अनुभूति निकटवर्तीलाई सुनाउान थालेका छन्, ‘कोइराला मलाई महत्वपूर्ण जिम्मेवारी दिन तयार छैनन् ।’ कोइरालाले पौडेललाई सभापति दिने सहमति गर्दा नेताहरु महेश आचार्य, आनन्द ढुंगाना, शेखर कोइराला र दीपकुमार उपाध्याय साक्षी थिए ।

साक्षी मध्येका एक शेखरमात्र पौडेललाई कार्यवाहक सभापति दिनुपर्नेमा अडिग छन् । बाँकी अरु मौन छन् । ‘प्रधानमन्त्री भएपछि सुशील दाले पार्टी चलाउन सक्नुहुन्न । त्यसले पार्टी लथालिंग हुन पुगेको छ । त्यसैले कार्यवाहक दिनुपनर्छ । शेखरले भने ‘जिल्लाका पच्चीस जना पार्टी सभापति सभासद छन् ।

उनीहरु संसदमा व्यवस्त भएपछि जिल्लालाई समय दिन सकेका छैनन् । पहिला सुशील दाले कार्यवाहक दिएर बाटो खुला गरिदिनुपर्छ ।’ जति दबाब आए पनि कोइराला कार्यवाहक दिन तयार छैनन् । मध्यमार्गी छवि बनाएका पौडेललाई संस्थापन पक्षबाटै चेपुवामा पर्न थालेको महसुस हुन थालेको छ । मस्यौदा समितिमा सिटौलालाई ल्याउने निर्णयप्रति उनी सन्तुष्ट छैनन् ।
सभापति कोइरालाचाहिं पौडेल संयोजक रहेका पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण विभागले आयोजना गरेको मेची–काली अभियानप्रति सन्तुष्ट छैनन् । अभियानमा सरकार र पार्टी सञ्चालनलाई लिएर आफ्नो आलोचना भएपछि वैशाख ८ मा विराटनगरको कार्यक्रममा उनी झोक्किए पनि ।

पौडेलतर्फ लक्षित गर्दै प्रधानमन्त्री कोइरालाले पार्टीभित्र ेनता त्रयको धारणा नभएको बताउँदै आफूलाई प्रधानमन्त्री र पार्टी सभापतिबाट हटाउन ठाडो चुनौतीसमेत दिए । १२ औं महाधिवेशनपछिको एउटा कालखण्डमा कोइरालाका मुख्य राजनीतिक सहयोगी पौडेल थिए । हरेक समस्या र कठिनाइमा कोइराला उनको साथ खोज्थे ।

अन्य दलसँगको वार्तामा पौडेल नभई हुन्थेन । तर दोश्रो संविधानसभा निर्वाचनपछि प्रधानमन्त्री को हुने भन्ने कोइराला–पौडेल सम्बन्ध चिसिन थालेको हो । कोइराला प्रधानमन्त्री भएर कालुवाटार सरेपछि पौडेलसँग भेट पनि पातलिएको छ ।

संसदीय दलको निर्वाचनमा बिनासर्त सहयोग नगरी आफूलाई अप्ठ्यारोमा पारेको भन्दै कोइराला उनीसँग चिढिएका छन् । संविधानसभाको मस्यौदा समितिको सभापति कसलाई बनाउने भन्ने निर्णयसम्म आइपुग्दा कोइराला र पौडेल दुर्य किनाराका नेताका रुपमा उभिएका छन् ।
पौडेलको पार्टीभित्र दह्रो सांगठनिक पकड छैन । पार्टीका ४० प्रतिशतको हैसियतमा रहेका शेरबहादुर देउवासँग मिल्ने सम्भावना पनि देखिन्न । प्रधानमन्त्री भएपछि कोइरालाले गरेको व्यवहार र नकारात्मक दृष्टिकोणका कारण पौडेल पार्टीभित्र आफ्नो नेतृत्वमा तेस्रो शक्ति निर्माण गर्ने मनस्थितिमा पुगेका छन् ।

आफू नेतृत्वको विभागको अगुवाइमा देशव्यापी अभियान चलाएर पौडेलले विस्तारै यस्तो दौड सुरु गरेका हुन् । जानकारहरुका अनुसार संस्थापन पक्षबाट अवसर नपाएका र भागबण्डाका कारण पछाडि परेका नेता/कार्यकर्ताको आक्रोशलाई ‘क्यास’ गरेर पौडेल तेश्रो शक्ति बनाउने कोसिसमा जुटेका हुन् ।

पौडेलको अभियानलाई संस्थापनकै नेताहरु अर्जुननरसिंह केसी, शेखर कोइराला, महेश आचार्य, मानबहादुर विश्वकर्मा, नवीन्द्रराज जोशी, केशव बुढाथोकीलगायतको साथ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us