यस्तो छ सुन बढ्नुको ६ कारण

काठमाण्डु टुडे २०७६ साउन २९ गते १५:०८ मा प्रकाशित

काठमाण्डु, २९ साउन— नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन  आज बुधबार ७ सय घटेर ७० हजार ३ सय रुपैंयामा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । महासंघका तथ्यांकअनुसार साउन १ गतेयता प्रतितोला ६ हजार ५ सय रुपैयाँले बढेको छ ।

साउन १ गते प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन २८ गतेसम्म आइपुग्दा प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको उल्लेख छ । विवरणअनुसार साउन २३ देखि २७ गतेसम्म भने मूल्य स्थिर थियो । ५ दिन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलबार पुनः प्रतितोला १ हजार रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको हो । महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार सोमबारको तुलनामा प्रतिऔंस सुन १९ अमेरिकी डलरले बढेको छ ।

‘युरोपियन मार्केटमा प्रतिऔंस १५ सय २७ डलर पुगेको छ । अमेरिकी मार्केट राति खुल्छ, त्यसपश्चात् मूल्य निर्धारण हुन्छ,’ शाक्यले भने, ‘मुख्य रूपमा न्युयोर्कको मार्केटले मूल्य निर्धारण गर्छ । बजार विश्लेषण गर्दा केही बढ्ने नै देखिन्छ ।’

सुनलाई सुरक्षित लगानीका रूपमा हेरिएकोले सुन अझ बढ्न सक्ने जानकारहरु बताउँछन् ।व्यापार युद्ध, आर्थिक संकट र राजनीतिक आन्दोलनसमेतले सुनको मूल्य वृद्धि गरिरहेका छन् । अस्थिरतामा व्यवसायीहरू सुरक्षित लगानीको खोजीमा छन् । लगानीकर्ताहरूले सुनमा लगानी गर्दा मूल्य अकासिएको हो । विज्ञहरूका अनुसार सुनको मूल्य बढ्नुमा मुख्यतः ६ कारण छन् ।
पहिलो कारण चीन र अमेरिकाको व्यापार युद्ध नै हो । ‘व्यापार युद्धकै कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने थप ३ सय अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत कर वृद्धि गर्ने घोषणा गरेका छन् । यो निर्णय सेप्टेम्बरबाट कार्यान्वयन हुन्छ,’ महासंघका अर्का पूर्वअध्यक्ष एवं मूल्य निर्धारण समिति सदस्य मणिरत्न शाक्यले भने, ‘जसले गर्दा भाउ बढाउन मद्दत गर्यो् ।’

उनका अनुसार २०१८ सम्म चीनलाई औद्योगिक क्रान्तिमा सफल मानिन्छ । चीनले आयात थोरै गर्छ । निर्यात बढी नै गर्ने हुँदा डलर सञ्चितिमा जोड दिएका थियो । अमेरिकी राष्ट्रपतिको नीतिका कारण द्वन्द्व सुरु भयो । त्यसपश्चात् चीनले डलर मौज्दातभन्दा सुन मौज्दात गर्न थाल्यो । ‘सुन मौज्दात गर्न थालेपछि मूल्य पनि बढ्न थालेको हो,’ उनले भने ।

दोस्रो कारण अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले घटाएको ब्याजदर हो । उसले पछिल्लो समय ब्याजदर ०।२५ प्रतिशत विन्दुले घटाउने निर्णय गरेको थियो । ‘ब्याजदर जुलाईमा
घट्यो । ब्याजदर घटे पनि आम्दानी कम हुन्छ । लगानीकर्ताहरूले निक्षेप झिकेर सुनमा लगानी गर्न थाले,’ पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, ‘बैंकबाट लगानी झिकेर सुन खरिद गरेर सुरक्षित गर्न खोजे ।’

महासंघका अनुसार तेस्रो कारण सेयर बजार हो । व्यवसायीका अनुसार अहिले विश्व बजारमै सेयर बजार कमजोर भएको छ । ‘ब्याजदर घटे पनि त्यसको प्रभाव सेयर बजारमा पनि परेको देखिन्छ,’ शाक्यले भने, ‘जसले गर्दा सुनमा थप लगानी भएको छ ।’

चौथो कारण युरोपियन युनियनको शक्तिशाली देश जर्मनीको अर्थतन्त्रमा आएको सुस्तता हो । त्यहाँक लागानीकर्ता पनि सुनमै लगानी गर्न इच्छुक छन् । अमेरिका, इरान, उत्तर कोरियाको कटु सम्बन्ध पनि एउटा कारण हो । ‘मध्यपूर्वका मुलुकबीच तनाव बढिरहेको छ । हङकङ पनि त्यही समस्या देखियो । तनावकै कारण व्यवसायीहरू लगानी सुरक्षित गर्न चाहन्छन् । धन सुरक्षित गर्न चाहन्छन् । कहीँकतै तनाव हुनेबित्तिकै सुनमै लगानी हुन्छ,’ पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, ‘अर्थतन्त्रको सिद्धान्तअनुसार माग बढेपछि मूल्य पनि अकासिएको हो ।’

छैठौं कारण जम्मु–कश्मीरको विवाद हो । विवादकै कारण अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ ९आईसी० कमजोर भएको छ । डलर महँगो भएपछि सुनको भाउ बढ्न सघाएको छ । ‘नेपाल र भारतको सटही दर फिक्स हुँदा डलर महँगो पर्योु,’ तेजरत्न शाक्यले भने, ‘त्यसैले नेपालमा सुनको भाउ बढदो क्रममा छ ।’

सुन सबैभन्दा बढी भारत र चीनमै खपत हुन्छ । भारतमा वार्षिक १ हजार २ सय टन खपत हुन्छ । चीनले २००८ मा ७५ टन सुन उत्पादन गरेको पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । ‘अहिले उत्पादन र खपत पनि बर्सेनि बढेको छ,’ उनले भने, ‘सुनको मौज्दात पनि बढाउँदै लगेको छ ।’

सुन मुख्यतः साउथ अफ्रिका, अस्ट्रेलिया, क्यानडामा उत्पादन हुन्छ । यीबाहेक अन्य मुलुकमा पनि छिटफुट रूपमा उत्पादन हुँदै आएको महासंघले जनाएको छ । नेपालमा सुन मुख्यतः दुबई, हङकङ, स्विटजरल्यान्डबाट आयात हुन्छ । उक्त सुन वाणिज्य बैंकहरूले मात्र आयात गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । केही वर्षयता सुन आयात र लगानी निरुत्साहित गर्न राष्ट्र बैंकले कार्यविधि बनाएर कोटा प्रणालीमा सुन आयात र वितरणको व्यवस्था गर्दै आएको छ ।

कार्यविधिअनुसार बैंकबाट व्यवसायीले दिनको २० किलो मात्रै किन्न पाउँछन् । चाडबाडको अवसरमा भने प्रतिदिन २५ किलोसम्म कोटा निर्धारण गर्दै आएको छ । अहिले भाउ अकासिएपछि बैंकहरूले पनि आयात गर्न छाडेका छन् । बैंकर्स संघका अनुसार अहिले बैंकमा करिब ७७० किलो सुन थुप्रिएको छ ।

सुनको मूल्यमा दैनिक नयाँ रेर्कड बनेपछि बजार संकटमा परेको व्यवसायीहरू बताउँछन् । महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यका अनुसार सुन खरिद गर्ने ग्राहक छैनन् । उपभोक्ताहरूले खरिदभन्दा बिक्री गरेका छन् । ‘साना पसल पलायन हुँदै गएको अवस्था छ । घरबाट सुन खरिद गर्न आएका उपभोक्ता भाउ सुनेर फर्केका छन्,’ उनले भने, ‘नयाँ सुन किन्न आउने नगन्य नै छ । चाडबाडकै मुखमा व्यापार संकटमा छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us