सहकारीको विकृति नियन्त्रण गरिने

काठमाण्डु टुडे २०७६ साउन २८ गते १८:१९ मा प्रकाशित


काठमाण्डु,२८साउन–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले वित्तीय संस्थामा मौलाउँदै गरेको विकृति नियन्त्रण गर्ने दिशातर्फ जानुपर्ने बताएका छन् ।
स्वावलम्बन विकास केन्द्रको २८ औँ वार्षिकोत्सव तथा उद्यमशीलता विकास पुरस्कार वितरण कार्यक्रममा आज उनले लघुवित्त संस्था र सहकारीको प्रकृति उस्ताउस्तै भएकाले सहकारीको विकृतिलाई नियन्त्रण गरिने बताए ।
सहकारी संस्था ठूलो भएपछि मानसिकताहरु विकृति बन्न थालेका छन् उनले भने, संस्थालाई पारदर्शी बनाउने र मौलाउँदै गरेको विकृति नियन्त्रण गर्ने दिशामा हामी जानुपर्छ । सरकारले अहिले सहकारीको समस्या समाधान गर्न लागिरहेको उल्लेख गर्दै उनले सहकारीलाई बेलैमा नियन्त्रण नगरिए पछि समस्या आउने बताए ।
सहकारीलाई अब साँच्चिकै नियन्त्रण नगर्ने हो भने दुई वर्षपछि झनै समस्या आउँछ, उनले भने सहकारी नियमावलीमार्फत सहकारीलाई नियन्त्रण गर्न प्रयासमा छौँ । मन्त्री अर्यालले एउटा मान्छे धेरै संस्थामा बस्ने समस्या रहेकाले अब त्यो अन्त्य हुनुपर्ने बताइन् । उनले सहकारी कर्जा कोष सञ्चालन गरिसकेकाले सहकारी क्षेत्रका विकृतिलाई नियन्त्रण गर्न सहयोग पुग्नेमा जोड दिए ।
मन्त्रालयले अहिले गरीब पहिचानको काम गरिरहेको जानकारी गराउँदै उनले गरीब पहिचानमा पनि प्रविधिको प्रयोग गरेर समस्या उत्पन्न नहुने गरी काम सम्पन्न गरिने भनाइ राखिन्। सोही अवसरमा काभ्रेपलाञ्चोकको मानसी लघुवित्त वित्तीय संस्थालाई रु एक लाखसहित यस वर्षको लघु उद्यमशीलता विकास पुरस्कार प्रदान गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us