काठमाण्डुमा फोहोरको पोको बोकेर हिंड्दै हुनुहुन्छ ? सावधान !

काठमाण्डु टुडे २०७६ असार ३१ गते ७:१२ मा प्रकाशित

काठमाण्डु, ३१ असार अरूको आँखा छल्दै फोहोरको पोको बोकेर कता लाग्दै हुनुहुन्छ ? कतै बाटोघाटो, चौबाटोको मोड र छिमेकीका घरढोकाअगाडि फोहोरको पोको बिसाउने मनशाय त छैन ?
यसो हो भने महानगरीय प्रहरी परिसर र काठमाडौँ महानगरपालिकाको नगर प्रहरी टोलीले तपाईंलाई सीसीटीभीबाट पहिचान गरी ५० हजार रुपैयाँसम्म जरिवाना गर्नेछ ।  महानगरपालिकाले यो प्रयोजनका लागि प्रहरी परिसरलाई पाँच करोड ८० लाख रुपियाँ अनुदान सहयोग गरिसकेको छ । प्रहरी परिसरको सडकमा जडित सीसीटीभी विगतमा अपराध अनुसन्धान र ट्राफिक व्यवस्थापनमा प्रयोग हुँदै आएको थियो ।  अब बाटोघाटोमा फोहोर छोडेर फुत्कनेलाई पनि यही सीसीटीभीमार्फत पक्रने छ । त्यति मात्र होइन, निजी स्तरबाट राखिएका सीसीटीभीमा कैद भएका प्रमाण वा मोबाइलबाट खिचिएको दृश्यलाई पनि मान्यता दिएर फोहोर फाल्नेलाई कारबाही गरिने छ ।
महानगरपालिका कार्यान्वयन विभाग प्रमुख धनपति सापकोटाका अनुसार अपराध अनुसन्धान, गुन्डागर्दी, सवारी दुर्घटनामा र ट्राफिक नियमको उल्लङ्घन, सामाजिक अभद्र व्यवहार सबैलाई सीसीटीभीको केन्द्रीय कक्षबाटै पहिचान गरेर कारबाही गरिन्छ । गोरखापत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us