
काठमाण्डु, २४ असार-बिषादी परीक्षण विवादमा सरकार तथस्ट बस्ने भएको छ । मन्त्रिपरिषद्को मंगलबार बिहान बसेको आकस्मिक बैठकले बिषादी परीक्षणबारे तथस्ट बस्ने निर्णय गरेको हो ।
सरकारले केही साताअघि भारतबाट आउने तरकारी तथा फलफूल बिषादी परीक्षण गरेर भित्र्याउन निर्देशन दिएको थियो । सरकारको निर्देशनपछि भारतबाट तरकारी तथा फलफूल लिएर आउने ट्रक लामोसमय सीमानाकामा रोकिएका थिए ।
तरकारी तथा फलफूल बोकेका ट्रक लामोसमय रोकिएपछि भारतले सामान बिग्रने भन्दै सरकारलाई बिषादी परीक्षण नगर्न दबाब दिएको थियो । भारतको दबाबपछि सरकारले केही दिनअघि भारतबाट आउने तरकारी तथा फलफूलको बिषादी परीक्षण तत्काललाई रोक्ने निर्णय गरेको थियो ।
बिषादी परीक्षण नगर्ने निर्णयको संसददेखि सडकसम्म विरोध हुँदै आएको छ । बिषादी परीक्षण नगर्ने निर्णयको सर्वत्र आलोचना भएपछि त्यसलाई सच्याउन आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बसेको हो । बैठकमा भएका अन्य निर्णय भने गोप्य राखिएको छ ।