
काठमाण्डु, २२ असार– पूर्वाधार अभावमा भारतबाट आयातित फलफूल तथा तरकारीको विषादी जाँच रोकिएको भन्दै प्रधानमन्त्री केपी ओलीको दाबीको उनकै मन्त्रीले खण्डन गरेका छन् ।
कृषिमन्त्री चक्रपाणि खनालले मुलुकका ६ स्थानमा अत्याधुनिक विषादी मापक यन्त्र रहेको बताउँदै पूर्वाधार अभाव भएको भन्ने दाबी गलत भएको स्पष्ट गरे । मन्त्री खनालका अनुसार काठमाण्डुको कालिमाटीस्थित केन्द्रमा मात्र तरकार र फलफूलमा प्रयोग गरिने २९ प्रकारका विषादीको जाँच गरिन्छ । खनालका अनुसार प्रदेश एकको विर्तामोड, प्रदेश दुईको सर्लाही, प्रदेश तीनको कालीमाटी, गण्डकी प्रदेशको पोखरा, प्रदेश पाँचको बुटवल र सुदूरपश्चिम प्रदेशका दुई केन्द्रबाट विषादी परीक्षण गर्न सकिन्छ । उनले पर्याप्त नभएको भन्न सकिने तर, हुँदै नभएको भन्न नमिल्ने बताए । खनालका अनुसार अहिले पनि तरकारीको विषादी मापन गर्न सकिन्छ ।
‘विषादीयुक्त फलफूल र तरकारी जाँच गर्न सकिन्छ’, आइतबार राष्ट्रियसभामा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रमम मन्त्री खनालले भने, ‘अहिले पनि हामी जाँच गर्न सक्ने अवस्थामा छौं ।’ बाणिज्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले नै विषादी परीक्षणको निर्णय गरेको जानकारी दिँदै खनालले फेरि बाणिज्यकै प्रस्तावमा उक्त काम रोकिएको बताए । ‘पहिला बाणिज्य मन्त्रालयले पूर्वाधार छ, सकिन्छ भनेर प्रस्ताव ल्यायो । निर्णय पनि भयो । हाम्रो मन्त्रालयले कार्यान्यवन गर्न थालेको थियो’, खनालले भने, ‘अब फेरि पूर्वाधार छैन भन्ने प्रस्ताव आएको छ, मैले मान्नुपर्ने होला ।’
सत्तारुढ नेकपा र बाहिरबाट प्रधानमन्त्री केपी ओलीमाथि भारतीय दबाबसामु घुँडा टेकेर सरकारले तरकारीको विषादी जाँच गर्ने निर्णयबाट पछि हटेको आरोप लागिरहेका बेला मन्त्री खनालको भनाइले आरोप पुष्टि गर्ने देखिएको छ । नेकपा संसदीय दलको शनिबारको बैठकमा कतिपय सांसदले सरकार भारतीय दबाबमा झुकेर त यस्तो निर्णय गरेको होइन ? भन्ने प्रश्न गरेका थिए । तर, संसदीय दलका नेतासमेत रहको प्रधानमन्त्री ओली ती प्रश्न गर्ने सांसदमाथि खनिए । उनले पूर्वाधार अभावमा पछि हट्नुपर्ने बताएका थिए । भारतीय दूतावासले लिखित रुपमा पत्रै पठाएर विषादी परीक्षण रोक्न सरकारलाई दबाब दिएको थियो ।