
काठमाण्डु, २२ असार– तनहुँको व्यास नगरपालिका–५ स्थित पाटन क्षेत्रमा बसोवास गर्ने बोटे समुदायका मानिसहरु पछिल्लो समय पुख्र्यौली पेशा छाडेर नदी बगरमा तरकारी खेती गर्न थालेका छन् । मादी र सेती नदीमा माछा मार्ने, ज्याला मजदूरी तथा ठूला नदीहरुमा गई बालुवा धोएर सुन निकाल्ने जस्ता पुख्र्यौली पेशा छाडेर बोटेहरु तरकारी खेतीमा लागेका हुन् ।
मादी नदीको बगरमा गरिएको तरकारी खेतीबाट दैनिक रु दुईदेखि रु तीन हजारसम्म आम्दानी हुने भएपछि यस खेतीतर्फ बोटे समुदायका मानिसहरु आकर्षित हुँदै गएको स्थानीय कृषक चित्रबहादुर बताए । खोलामा माछा नपाइने, नदी किनारमा अनियन्त्रित रुपमा खोलिएका क्रसर उद्योगले गर्दा सुन नपाइने जस्ता कारणले परम्परागत पुख्र्यौली पेशा धरापमा पर्दै गएकाले तरकारी खेतीतर्फ लागेका हुन् ।
शिक्षा तथा आवश्यक सीप केही नहुँदा लामो समय वैदेशिक रोजागारीमा टिक्न नसकेर सात जना बोटे युवा स्वदेश फर्किएर अहिले तरकारी खेतीतर्फ लागेका छन् । तरकारी खेतीले दैनिकीमा परिवर्तन ल्याएको र आफूले जति मिहेनत गर्न सकियो त्यति नै आम्दानी गर्न सकिने हुँदा बगरको तरकारी खेतीले यहाँका बोटे समुदायको जीवनस्तर माथि उकास्न सहज भएको कृषक चित्रबहादुरको भनाइ छ ।रासस