चेपाङलाई पत्रकारिता सिकाउँदै कैलाश गाउँपालिका

काठमाण्डु टुडे २०७६ असार २२ गते १२:३३ मा प्रकाशित

काठमाण्डु, २२ असार– मकवानपुरको कैलाश गाउँपालिकाले स्थानिय चेपाङ समुदायलाई लक्षित गरेर पत्रकारिता तालिम दिएको छ ।सो गाउँपालिकाको वस्तुस्थिति, पर्यटन, घटनाक्रम तथा रहनसहनको उजागर गर्ने एवं प्रचारप्रसार गर्ने तथा राष्ट्रियकरण गरी कैलाशलाई चिनाउने अभियानअनुसार तालिम आयोजना गरिएको कैलाश गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तानले बताए ।

तालिमपछि आधारभूत पत्रकारिताको ज्ञान प्राप्त भएको र गाउँघरका कतिपय विषयवस्तुलाई समाचारको ढाँचामा बदल्न सक्ने कैलाश–७ का आइतसिंह चेपाङले बताए ।तालिमका अर्का प्रशिक्षार्थी नेत्र चेपाङका अनुसार यो तालीमले यहाँको रेडियोमा बोल्ने सपना पूरा गर्न भूमिका खेल्छ ।’तालीम लिएपछि हामीले ‘कैलाश सेरोफेरो’ नामक कार्यक्रम तयार पारेका छौँ, अब मनहरि एफएमबाट चाँडै प्रसारण गर्छौ’ । उनले भने तालिममा सहभागी अर्का प्रशिक्षार्थी चित्रबहादुर प्रजा तालिमले आफ्ना मनोभावना व्यक्त गर्ने कला सिकाएको बताए।

यस्ता तालिमले राज्यको मूल प्रवाहबाट अलग रहेको जाति समुदायलाई मूलधारमा ल्याई देश निर्माणको साझेदार बनाउन मद्दत पुर्‍याउने प्रदेश नं ३ का सांसद ओम घलानको भनाइ छ । फिलिङ्गो मिडियाले संयोजन गरेको तालिममा पत्रकार महासङ्घका पूर्वमहासचिव उजिर मगर, जनता टेलिभिजनका रामकुमार एलन, राससका रिपेश दाहाल, गोरखापत्र दैनिकका शिवकुमार काशी, एभिन्यूज टेलिभिजनका राजन दाहाल, तुखबरका गिरिजा अधिकारीलगायतले प्रशिक्षण दिएका थिए।

(रासस)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us