निषेधित क्षेत्र तोड्न खोज्दा पानीको फोहोरा हानियाे: मन्त्री अर्याल

काठमाण्डु टुडे २०७६ जेठ २७ गते १२:०७ मा प्रकाशित

काठमाण्डु, २७ जेठ – गुठी विधेयकको विरोधमा आइतवार भएको प्रदर्शनमा केही प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहोरा हानेको सरकारले दावी गरेको छ ।

प्रतिनिधि सभाको सोमवार बसेको बैठकमा सभामुखसँग समय लिएर मन्त्री पद्मा अर्यालले विधेयकको विरोधमा आएका गुठीयार र सडक विस्तारमा जग्गा मिचिएका केही उत्तेजित हुँदै निषेधित क्षेत्र तोड्न खोज्दा भीड नियन्त्रण गर्न खोजेको बताएकी हुन् ।

विधेयक र विधेयकमा भइरहेको विरोधको विषयमा सरकारले बडो सचेततापूर्वक हेरेको उनले बताइन् ।

सदनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएपछि सरकारको तर्फबाट जवाफ दिन समय लिएकी मन्त्री अर्यालले सरकारले संसद (राष्ट्रिय सभा)मा पेश गरेको विधेयक विगतकै परम्परा भएको बताइन् ।

‘हाम्रो मौलिकता मासिने हो कि भन्ने चिन्ता व्यक्त गर्नुभएको छ, हिजोदेखिको निरन्तरता हो,’ मन्त्री अर्यालले भनिन्, ‘गुठी संस्थानलाई प्राधिकरणमा लैजान गर्दा मूल्य मान्यता, धर्म संस्कृति र परम्परामा प्रहार गर्ने गरी आएको छैन ।’

अहिलेको संशोधनले मठ मन्दिर र किसानको अधिकारमा प्रतिकूल नगर्ने गरी विधेयक पेश गरेको मन्त्री अर्यालले दावी गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us