विद्या भण्डारीलाई मेराविरुद्ध उछालियोः ओली

काठमाण्डु टुडे २०८२ असार २० गते ९:३१ मा प्रकाशित

काठमाण्डू, २० असार– प्रधानमन्त्री केपी ओलीले आफूविरुद्ध पूर्वराष्ट्रपति विद्या भण्डारीको नाम उछालिएको भन्दै आक्रोश पोखेका छन् ।

स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बिहीबार साँझ म्याड्रिडस्थित नेपाली दूतावासमा युरोपमा रहेका एमाले समर्थकसँगको भेटमा पार्टीभित्र अनावश्यक विवाद खडा गर्न खोजिएको बताए ।

विद्या भण्डारीको नाममा पार्टीभित्र अनावश्यक विवाद सिर्जना गर्ने तथा गलत सन्देश दिने काम भइरहेको उनको भनाइ थियो । यद्यपि भण्डारी आफ्नोविरुद्ध खडा हुन नक्ने दाबी ओलीले गरे ।

‘उहाँ आफैंले केही भन्नुभएको छैन’, ओलीले भने, ‘मेराविरुद्ध उहाँको नाम अघि सारेर विद्या भण्डारी विद्या भण्डारी भन्ने चर्चा चलाएका छन् ।’
ओलीले आन्तरिक समस्याको समाधान गर्न एमाले सक्षम रहेको प्रष्टीकरण दिए ।

देशबाट गरिबी हटाउने तथा नेपाललाई आधुनिक र विकसित मुलुक बनाउने लक्ष्यमा आफू र एमाले बिचलित नहुने दाबी उनको छ ।

ओलीले सामाजिक सञ्जालमार्फत निराशा र भ्रम फैलाउन केही समूह सक्रिय रहेको भन्दै उनले भ्रामक प्रचारबाट प्रभावित नहुन विदेशमा रहेका नेपालीलाई आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us