त्रिविको शैक्षिक सम्मेलन जेठ २६ गते, राष्ट्रपतिले उद्घाटन गर्ने

काठमाण्डु टुडे २०७६ जेठ २४ गते १७:४६ मा प्रकाशित

काठमाण्डु, २४ जेठ – त्रिभुवन विश्वविद्यालयले यही जेठ २६ र २७ गते अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने भएको छ ।

विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण विषयमा केन्द्रीत रहेर सम्मेलन गर्न लागिएको त्रिविका उपकुलपति तीर्थ खनियाले जानकारी दिए । सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेछिन् ।

सम्मेलन ललितपुरस्थित होटल हिमालयमा हुने भए पनि उद्घाटन राष्ट्रपति निवास शीतलनिवासमा हुने खनियाको भनाइ छ ।

त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीका अनुसार सम्मेलनमा पाठ्यक्रम र शिक्षण, अनुसन्धान र अविष्कार तथा उद्यमशीलता र ब्यवस्थापन गरी तीन मुख्य विषयमा प्रस्तुतीकरण हुनेछ ।

सम्मेलनमा नेपालसहित अमेरिका, बेलायत, फिनल्याण्ड, भारत, सिंगापुर र जापानका विश्वविद्यालयमा कार्यरत विषय विशेषज्ञहरुले ज्ञान र अनुभव बाँड्ने उनले बताए ।

सम्मेलनबाट प्राप्त ज्ञान र अनुभवलाई त्रिविको नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us