
काठमाण्डु, २३ जेठ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बजेटलाई कागजको घोडा भएको प्रतिक्रिया दिएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक बर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले बजेट कागजको घोडा जस्तै भएको टिप्पणी गरेका हुन् । पूँजीगत खर्च र विकास खर्च भन्दा चालु खर्च बढी भएको ऋणात्मक बजेटले मुलुकको सम्मृद्धि हासिल गर्न नसक्ने दाबी उनले गरेका छन् ।
‘कागजको घोडा जस्तै बजेट । न यसले घाँस र दाना खाला, न यसले सवारी बोक्न सक्ला ? ऋणात्मक बजेट जो पूँजीगत खर्च गर्न सकेको छैन । पूँजीगत खर्च गरेर शान्ति र सम्मृद्धि ल्याउनुपर्यो नि । पूँजीगत खर्च गर्न नसक्ने , विकास खर्च गर्न नसक्ने । बजेट वृद्धि हुने, विकासमा वृद्धि नहुने, चालु खर्चमा वृद्धि हुने, चालु खर्च नपुग हुने , विकास खर्च गर्नै नसक्ने’, उनले भने, ‘त्यसैले यो कागजको घोडा भयो । कागजको घोडा दौडाएर कहिँ पुगिँदैन । पोहोर साल कागजको घोडा अलि सानो थियो । यसपाली कागजको घोडा अलि ठुलो भएछ । अझै ठुलो बनाइदिएको भए पनि हुन्थ्यो ।’
नेता खाँणले अझै ठूलो बजेट बनाएको भए रेलै आउने भन्दै कटाक्ष गरे । ‘ठूलो बनाएको भए सायद पानी जहाज आउँथ्यो होला । रेल आउथ्यो होला । जनतालाई पानी जहाज र रेल चढ्ने इच्छा छ’, उनले भने, ‘देशभित्रै पानीजहाज चढ्ने इच्छा छ । त्यो इच्छा पुरा गर्थ्यो होला । तर यो कागजको घोडाले त्यो इच्छा पुरा गर्ने भएन । त्यसो भएर दुःख लाग्या छ ।’