
काठमाण्डु, २३ जेठ – सांसदहरुले शुन्य समयमा उठेका आवाजको सरकारबाट सुनुवाई नभएको भन्दै शुन्य समयलाई प्रभावकारी बनाउन सभामुखको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बिहीबार शुन्य समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद विरोध खतिवडाले शुन्य समयमा उठेका विषयहरुको सम्बोधन नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराए ।
शुन्य समयको आसय संसदको आवाज सरकारले व्याकरणको कानले सुन्ने हो, तर गल्तीबस नियमावलिमा अंकगणितको शुन्य समय भएछ,’ उनले भने, ‘अनि यो शुन्य मै यो हराए जस्तो लाग्यो ।’ उनले श्न्य समयले एउटा सहारा पायो भने दश गुणा शक्तिशाली हुने बताए । शुन्य समयलाई शक्तिशाली बनाउन सभामुखलाई सहारा भएर उभिन आग्रह गरे ।
सांसद लक्ष्मी परियारले संसद सचिवालय सिंहदरबारका कर्मचारीले तलब सुविधाको अतिरिक्त ५० प्रतिशत प्रोत्साहन भत्ता पाएको तर संसद भवन अन्तराष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीले नपाएको भन्दै समान व्यवहार गर्न ध्यानाकर्षण गराइन् ।
उनले लोकसेवा आयोगको विज्ञापनमा समावेशी समानुपातिक प्रणाली नअपनाईएको भन्दै प्रश्न गरिन, ‘के समानुपातिक समावेशी अन्त्य भएको होरु’
सांसद बिमला विश्वकर्मा र सरवत आरा खानमले लोकसेवा आयोगले आव्हान गरेको विज्ञापन संविधानको मर्म र भावना विपरित भएको भन्दै यथासिघ्र खारेज गर्न माग गरे ।
सांसद लालकाजी गुरुङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २० अर्ब २६ करोड रुपैयाँ बेरुजु भएको देखिएपछि महालेखा परीक्षकको कार्यालयले वेरुजु फस्र्यौट गर्न ताकेता गर्दा मन्त्रालयले फेरी गोष्ठी गर्ने भनेर करिब २० लाख खर्च गर्न लागेको भन्दै मन्त्रालयभित्रको भ्रष्ट्राचारप्रति ध्यानाकर्षण गराए ।
सांसद बोधमाया कुमारी यादवले धान खेती लगाउने समय नजिकिदै गर्दा किसानले मल र बिउविजन नपाएर समस्यामा परेको तर मलखाद खरिदका लागि आएको १ अर्ब रुपैयाँ फ्रिज हुने अवस्थामा पुगेको भन्दै कृषि मन्त्रीको ध्यानाकर्षण गराइन् ।
सांसद सितादेवी यादवले वृद्धभत्ताका लागि ७० वर्षबाट ६५ वर्ष कायम गर्न र पुर्ववर्ती सरकारले घोषणा गरेको ४ वटा गम्भीर रोगका विरामीलाई ५ हजार दिने घोषणालाई लागु गर्न सरकारसँग माग गरिन् ।
सांसद सुदन किरांतीले बेलायती गोर्खा भूपू सैनिकका समस्यालाई राष्ट्रकै समस्याको रुपमा लिएर प्रधानमन्त्रीले आफ्नो बेलायत भ्रमणको क्रममा सो समस्या सम्बोधनका लागि पहल गर्न माग गरे ।
सूर्य प्रसाद पाठकले धौलागिरी अंचलको कालीगण्डकी नदीमा मध्यरातमा नियम विपरित बालुवा निकाल्ने काम भइरहेको भन्दै प्रकृतिको दोहान रोक्नका लागि सरकारको ध्यानाकर्षण गराए ।
सांसद संञ्जय कुमार गौतमले पर्यटन प्रवद्र्धनका लागि नेपालगञ्ज विमानस्थललाई प्रवद्र्धन गरी नेपालगञ्ज–दिल्ली र नेपालगञ्ज–पोखराको उडान गर्ने प्रतिवद्धता गत वर्ष नै सरकारले व्यक्त गरेको स्मरण गराउँदै सोहीअनुसार पहल गर्न ध्यानाकर्षण गराए ।
पत्रकार धम्क्याउने मेयरलाई कारबाही गर्न माग
सांसद सुजाता परियार र सांसद हिरा गुरुङले इटहरी उपमहानगरपालिका मेयर द्धारिकालाल चौधरीबाट संचारकर्मीमाथि भएको दुर्रव्यवहारप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद गुरुङले पत्रकारलाई दुर्रव्यवहार गर्ने प्रमुखलाई तत्काल कानुनी कारवाही गर्न माग गरे ।