
काठमाण्डु, २३ जेठ – सत्तारुढ नेकपा केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।
बिहान ९ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुने बैठकमा जिल्लाका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी बाँडफाँडका विषयमा छलफल र निर्णय हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
इन्चार्ज र सहइन्चार्जको टुंगो हिजो (बुधबार) कै बैठकमा लगाउने भनिएको थियो । तर, सहमती हुन नसकेपछि बैठक आज पनि बस्न लागेको हो ।
त्यसैगरी बैठकमा सरकारको कामको समीक्षा र अन्य सांगठानिक कामका विषयमा पनि छलफल हुने प्रवक्ता श्रेष्ठले बताए ।
बुधबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यको कार्यविभाजन मिलाउन मध्यमार्गी प्रस्ताव अगाडि सारेका थिए ।
कार्यविभाजनमा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालले आआफ्नो अडान नछाडेपछि दाहालले विकल्पका रूपमा मध्यमार्गी प्रस्ताव ल्याएको थिए ।
जनप्रतिनिधि रहेका केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्ज–सहइन्चार्ज बन्न बन्देज लगाउन नहुने प्रचण्डको प्रस्ताव छ । त्यस्तै नेकपा नेता वामदेव गौतमले मन्त्री र सांसदलाई दोहोरो जिम्मेवारी दिन नहुने बताएका छन् ।