दादा गिरी नगर्नुस्, केपी ओली प्रवृत्ति छोड्नुस्ः राजेन्द्र महतो

काठमाण्डु टुडे २०७६ जेठ २१ गते १२:५० मा प्रकाशित

काठमाण्डु, २१ जेठ – राष्ट्रिय जनता पार्टी(राजपा)का नेता राजेन्द्र महतोले संघीयता विरोध बजेट आएको बताएका छन् ।

मंगलबार बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै उनले संघीयताको मर्मअनुसार बजेट नआएको बताए । ‘संघीयता विरोधी यसको सबैभन्दा ठूलो विशेषता हो’ उनले भने, ‘केन्द्रीय सरकारले सबै बजेट चलाउने रे । प्रान्तीय सरकारहरुले २० प्रतिशत पनि बजेट नपाउने रे ।’

आफूहरुले ‘केपी ओली मार्का’को नभई स्वायत्त, अधिकार सम्पन्न प्रदेश मागेको उनको भनाइ थियो ।

विदेश नीति, राष्ट्रिय सुरक्षा, मौद्रिक र राष्ट्रिय गौरबका आयोजना बाहेक सबै प्रदेशलाई दिनुपर्ने भन्दै उनले भने, ‘संघीयतालाई असफल पार्ने बजेट आएको छ, यो दुःखद हो । ‘

महतोले स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवा आयोगले गरेको विज्ञापनको विरोध गरे ।  महतोले सरकार संविधानलाई असफल पार्नेतर्फ उद्यत भइरहेको आरोप लगाए ।

‘प्राप्त उपलब्धी पनि पालैपालो खोस्ने काम भएको छ । कर्मचारी भर्ती गर्दा समावेशी नगर्ने रे,’ लोकसेवा आयोगप्रति आक्रोश व्यक्त गर्दै महतोले भने, ‘दादा गिरी नगर्नुस्, केपी ओली प्रवृत्ति छोड्नुस् ।’

सांसद महताले सांसदलाई दिएको ६ करोडको विरोध भइरहेको भन्दै निर्वाचन प्रणाली नै फेर्न प्रस्ताव गरे ।

‘संसदहरु चुनावमा जाँदा धर्मसाला बनाइदे, हृयाण्डपाइप माग्दो रहेछ । सांसद भएपनि माग्दो रहेछ’ उनले भने, ‘निर्वाचन प्रणाली नै यस्तै हो । समानुपातिकमा लैजाउँ न ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us