
काठमाण्डु, २० जेठ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता तथा सांसद राजेन्द्र लिङदेनले भ्रष्टाचार नियन्त्रणमा सरकारको नीति तथा कार्यक्रम नबोलेको आरोप लगाएका छन् । संसदमा बजेट छलफलमा भाग लिदै लिङदेनले भ्रष्टचार नियन्त्रण नगरेसम्म विकास हुन नसक्ने बताउदै भ्रष्टाचार निन्त्रण कडाइको साथ गरिनु पर्ने बताएका हुन् ।
‘भ्रष्टाचार व्याप्त छ, भ्रष्टचार निर्मम तरिकाले प्रहार गर्ने कुनै कार्यक्रम आएन, एक लाइनमा बोलेर पुग्दैन’ लिङदेनले भने । उनले ठूला आयोजनामा खर्च नहुने बजेट राख्ने र अत्यावश्यक आयोजनामा न्युन बजेट राख्ने प्रवृत्ति दोहोरिएको टिप्पणी गरे । पूर्वधारपछि शिक्षा र स्वास्थ्य बजेट विनीयोजन गरिए पनि त्यसको प्रभावको सवालमा सरकारले मूल्यांकन गर्न नसकेको बताए ।
‘हामीले बिमा बढाउने भनेका छौँ, कार्यक्रम पनि छ’ लिङदेनले भने, ‘गत वर्ष बिमा गरेका मध्ये ३० प्रतिशतले किन नविकरण गरेनन् विचार गर्ने कि नाइ ?’ उनले बिमाको सुबिधा सबै अस्पतालबाट दिइने हुनु पर्नेमा तोकिएको अस्पताल राखिएको र त्यहा लाभग्राहीलाई राम्रो व्यावहार नगर्ने गरिएको बताए ।
खर्चको क्षमता हरेर प्रदेश तहमा बजेट विनीयोजन भएकोमा अर्थमन्त्री खतिवडाको प्रशंसा गरे । अनुदानको नाममा दिइने रकमको दुरुपयोग रोक्न पनि लिङदेनको आग्रह छ ।