विप्लवका प्रभावशाली नेता नेकपामा प्रवेश

काठमाण्डु टुडे २०७६ जेठ २० गते १५:०७ मा प्रकाशित

काठमाण्डु, २० जेठ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेता ललित ताम्राकार अभियान सत्तारुढ दल नेकपामा प्रवेश गरेका छन् । प्रचण्ड नेतृत्वकै नेकपाले समाजवादी क्रान्ति पूरा गर्ने र देशमा समृद्धि ल्याउने विश्वासका साथ आफू पार्टी प्रवेश गरेको ताम्राकारले बताएका छन् ।

नेता ताम्राकार तत्कालिन १० वर्षे जनयुद्ध सुरुवात गरेको नेकपा माओवादी पार्टीको भातृ संगठन अखिल भारत नेपाली एकता समाजमा आबद्ध थिए ।

त्यसपछि प्रवास भारत, जनाधिकार सुरक्षा समितिको महाराष्ट्र राज्य सचिव हुँदै पछिल्लो चरणमा नेत्रविक्रम चन्द विप्लव निकट नेपाल कम्युनिष्ट पार्टीको प्रवास भारतको प्रवासी नेपाली जनसमाज भारत महाराष्ट्र गुजरात गोवा राज्य (३) नं जिल्ला इन्चार्ज एवम् केन्द्रीय नेताका रुपमा काम गर्दै आएका थिए ।

सत्तारुढ दल नेकपामा प्रवेश गर्दै उनले विप्लवको एकीकृत जनक्रान्तिको कार्यदिशा आफैंमा अपूरो भएको भन्दै अतन्तः कमरेड प्रचण्डकै नेतृत्वको नेकपाले समाजवादी क्रान्तिको ढोका खोल्ने बताए । त्यही विश्वासका साथ उनले आफूसहित पुरै टिम नेकपामा प्रवेश गरेको जानकारी गराए ।

पार्टी प्रवेश गर्ने ताम्राकारसहितको टीमलाई नेकपा पार्टीका स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री लेखराज भट्टले प्रवेश गराएका थिए । पार्टी प्रवेश गराउँदै भट्टले सम्पूर्ण वामपंथी कम्युनिष्टहरुले एक कम्युनिष्ट केन्द्र निर्माण गरेर वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनुको विकल्प नरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us