
काठमाण्डु, २० जेठ – राष्ट्रिय जनता पार्टी (राजपा)ले लोकसेवा आयोगले आह्वान गरेको विज्ञापनलाई संविधानसम्मत बनाउन र गिरिसचन्द्र लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै राजपाका सांसद राजकिशोर यादवले संविधानको कार्यान्वयन गर्नरगराउन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले संविधानमा गरिएको व्यवस्था विपरित आयोगले विज्ञापन आह्वान गरिएको भन्दै उनले सरकार कसले चलाएको छ भनि प्रश्न गरे ।
उनले भने, ‘यो राज्य कसरी चलेको छ ? यो राज्य कसले चलाएको छ ? वास्तवमा यो राज्य चलाउनेहरुले संविधानलाई मानेको छ कि छैन भन्ने गम्भीर प्रकृतिका प्रश्न उठेको छ ।’
उनले लोकसेवा आयोगले आव्हान गरेको विज्ञापन संविधानको मर्म र भावना विपरित भएको टिप्पणी गरे । संविधान विपरित विज्ञापन आव्हान गर्नुले सरकारको कुनियत देखिएको दाबी उनले गरे । उनले भने, ‘जब यो संविधान सरकारले मान्दैन । जब यो संविधान अनुसार यो सदन परिचालन हुदैन । जब यो संविधान संबैधानिक निकायमा बस्ने मान्छेले मान्दैन । व्यक्तिको उन्माद, उसको कुण्ठा र उसको चिन्तनबाट जब कार्य अगाडि बढाईन्छ समस्याहरु उब्जिन्छ ।’
सांसद यादवले राष्ट्रलाई दीर्घकालिन रुपमा नोक्सान पुर्याउने काम बन्द गर्न सरकारलाई सचेत गराए । उनले सदनको मर्यादा राख्दै गिरिसचन्द्र लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरे ।