चितवन काण्डबारे धुर्मुसले मागे माफी

काठमाण्डु टुडे २०७६ जेठ १९ गते १५:४८ मा प्रकाशित

काठमाण्डु, १९ जेठ – चितवनमा कलाकार सीताराम कट्टेल धुर्मुसले केही दिनअघि चितवनमा रंगशाला निर्माणस्थलमा भएका घटनाका बारेमा आफूहरुले गरेको टिप्पणीप्रति माफी मागेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरु गरेका उनले निर्माणस्थलको बार भत्किएपछि आफूहरुबाट भएको टिप्पणीले कसैलाई चोट पुगेको भए माफी मागेका हुन् ।

आइतबार फेसबुकमा अपिल पोष्ट गर्दै उनले भनेका छन् ‘हामीले आक्रोशमा आएर अञ्जानमा केही गलत बोलेको भए वा कर्सैमाथि ठोस पुगेको भएमा हामी क्षमाप्रार्थी छौं ।’

रंगशाला निर्माणस्थलमा स्थानीयले डोजर लगाएर बार भत्काएपछि धुर्मुस सुन्तली फाउण्डेसनको तर्फबाट सार्वजनिक भिडियोमा स्थानीयप्रति आक्रोश व्यक्त गरिएको थियो । त्यसको सार्वजनिक रुपमा विरोध पनि भएको थियो ।

यस्ताे छ उनले जारी गरेकाे विज्ञप्ति:

रङ्गशालाका बिषयमा हाम्रो अपिल

नमस्कार, जे नहुनु थियो, त्यो भयो । यो समयमा हामीलाई साथ दिने, सहयोग गर्नुहुने, सहानुभुती प्रकट गर्नुहुने, हौसला प्रदान गर्नुहुने सम्पुर्ण अग्रज ब्यक्तित्वहरु, सहयोगी मनहरु सहित सम्पुर्ण नेपाली दाजुभाई दिदीबहिनी तथा नेपाली भाषीहरुमा हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहान्छौं ।

धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिका बिच सम्झौता भई भरतपुरको चितवनमा निमार्णाधिन अवस्थामा रहेको ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’का सम्बन्धमा विभिन्न सञ्चार माध्यममा आएका समाचार साथै ती समाचारमाथिका क्रिया प्रतिक्रियाका बारेमा ध्यानाकर्षण गराउँन चाहान्छौं । केही व्यक्तिहरूको अगुवाइमा रंगशालाको घेराबारामा डोजर लगाइ गरिएको भौतिक क्षतिप्रति हामी पुनः दुःख व्यक्त गर्दछौँ ।

रंगशालाको डिपिआर आइ नसकेको अवस्थामा निर्माण सामग्री सुरक्षा तथा ग्राउण्डको काम साथै केही भौतिक संरचना बनिरहेको अवस्थामा निर्माण स्थल सुरक्षाका लागि ४ महिना अगाडि नै तिन तिर जस्ताले बेरबार गरेपनि सो साइडतिर स्थानियकै भावनालाई नै मध्यनजर राखेर बेरबार हुन सकिरहेको थिएन् । र निर्माण स्थलमा भएका सामाग्रीको सुरक्षाका लागि स्थानिय टोल बिकास संस्थाका अगुवा ब्यक्तिहरुको सल्लाह अनुसार र सहमती अनुसार नै घेराबारा गरिएको थियो । र स्मरण गराउँन चाहान्छौं, कृषि तथा बन बिज्ञान विश्वबिद्यालयले सो ठाउँमा पहिलेनै काँडे तारको बार लगाएको थियो । सो भन्दा १ मिटर भित्रबाटै हामीले महानगर र वडालाई समेत जानकारी गराई र महानगरपालिकाले डिपिआर आईसकेपछि मात्रै कुन बाटो पराकिलो बनाउँने, कुन बाटो प्रयोगमा ल्याउने निर्णय गरिनेछ र निर्माण स्थल सुरक्षित राख्न, अगाडि बढ्न पत्राचार गरेकै आधारमा स्थानियको सल्लाह बमोजिमनै जस्ताको बार लगाउन सुरु गरेका थियौं । बारको छेउमा कुनै चल्तीको बाटो पनि नरहेको र महानगरपालिका र वडाले यति मिटर बाटो हुनुपर्ने भनेर कुनै पनि निर्देशन नगरिरहेको अवस्थामा भ्रममा परि केही व्यक्तिले उचालेको कारणले जुन क्षति पुग्न गएको छ त्यसप्रति हामी अत्यन्त दुखी भएका छौँ । देश विदेशमा बसेर अघाउँजी नखाइ पसिना बगाइरहेका श्रमशील दाताबाट प्राप्त रकमले निर्माण गरिएको उक्त भौतिक संरचनामा प्रहार गर्दा आज कसैको जीत नभएको र दाताको पसिनाको अपमान भएको हामीले महसुस गरेका छौँ । खेलप्रेमी व्यक्ति एवम् खेलाडीहरूका मनमा चोट लागेको कुरा अनुभव गरेका छौँ ।

हाम्रो कसैप्रति कुनै पूर्वाग्रह पनि छैन र रहने पनि छैन । मानिसबाट कहिलेकाहीँ कमजोरी हुन्छन् हामी स्वीकार गछौँ । कमजोरी भए सच्याएर अगाडि बढ्ने कुरामा पनि प्रतिबद्ध छौँ । अहोरात्र खटिरहँदा सहयोगी मनहरुको रगत र पसिनामाथी डोजर चल्दा जो पनि आक्रोसित हुनु स्वभाविक हु्न्छ । हामीले आक्रोसमा आएर अन्जानमा केही गलत बोलेको भए वा कसैमाथी ठेस पुगेको भएमा हामी क्षमाप्रार्थी छौं । जसले घटना घटायो, हाम्रो अभिब्यक्ति उसमा मात्र लक्षित हो । स्थानिय प्रति हाम्रो केही गुनासो छैन् । साथै काम गर्दै जाने क्रममा हामीबाट पनि कुनै त्रुटी भएका हुन सक्छन् । उद्देश्य पवित्र राख्दाराख्दै पनि कसैको मनमा चोट लागेको हुनसक्छ । अज्ञानताबस भएका त्यस्ता भुलप्रति हामी क्षमाप्रार्थी छौँ । मानिस हरेकको विचार भिन्न रहने भएकाले हामीसँग कसैको फरक मत पनि हुन सक्छ । हामी त्यसको पनि सम्मान गर्दछौँ । कुनै विमती भए वार्ता र छलफलबाट निराकरण गर्न सकिन्छ । विध्वंस कुनै पनि कुराको निकास हैन हामी यसमा विस्वस्त छौँ । विनास र विध्वंसमा लाग्ने ऊर्जालाई विकासमा लगाउन अनुरोध पनि गर्दछौँ ।

हामीले निजी स्वार्थ राखेर यो काम गरेका हैनौ । यदि कसैमा यसको बुझाइ फरक परेको भए यो देशको गौरव र धेरै नेपालीको भविष्यसँग गाँसिएको विषय हो भन्ने कुरा बुझाउन चाहन्छौँ ।

हामीले त्यति धेरै गरीवका घर, पीडितका बस्ती बनाईरहँदा केही भुँमिहिनहरुलाई जग्गा खरिद गरेर समेत एकीकृत नमुना बस्ती बनाएर आएका अभियान्ता भएको हुनाले कसैको घर ध्वस्त पार्ने, जग्गा रित्याउने र कसैलाई सुकुम्वासी बनाउने बिल्कुलै मनसाय होईन् । कसैको घर जग्गा बाटोमा जान्थ्यो भने पहिलो आवाज उठाउने ब्यक्तिनै हामी हुन्थ्यौं । सो ठाउँमा रङ्गशालाकै कारणले कसैको जग्गा जाने, कसैको घर उठिवास हुने अवस्था पनि छैन । र हाम्रो संकल्प कसैलाई सुकुम्बासी बनाउन, नकारात्मक प्रभाव पार्ने उद्देश्यले नभएर सबैको हितलाई केन्द्रमा राखेर यो काम आँटेका हौँ । काममा बाधाव्यवधान नआउने हो भने हामी भनेकै मितिमा पूरा गर्न सक्नेछौँ । ज्ञानबस वा अज्ञानताबस जसले यो गल्ती गरेको भए पनि आगामी दिनमा नगरिदिनुहुन अनुरोध गर्दछौँ । रंगशालाको पक्ष र विपक्ष भएर एउटै परिवारका हामी सबै नेपाली विभाजन नभइदिन र अनावश्यक झैझगडामा नलागीदिन हामी सबैँमा आग्रह गर्दछौँ ।

अन्त्यमा, जे नहुनु थियो त्यो भयो । अब त्यसमा पछुतो, वादविवाद र टिकाटिप्पणी गरेर घटनालाई गिजोल्ने गरेर समय व्यतित गर्नुभन्दा आगामी दिनमा यस्तरी कसैको पसिनाको अपमान हुने र अरु कसैको नोक्सानी हुने काममा नलागीदिन र अभियानको अभियान्ता बनिदिनुहुन पनि हामी सम्पूर्णमा आह्वान गर्दछौँ । साथै स्थानिय महानुभावहरुले हामीलाई बार लगाईदिने र काम सुचारु गर्न बातावरण तयार गर्ने प्रतिबद्धता जनाईसक्नु भएकाले गर्दा स्थानिय महानुभावहरु, भरतपुर महानगरपालिका साथै नेपाल सरकारलाई छिटो भन्दा छिटो रङ्गशालाको काम अगाडि बढाउन अनुकुल बातावरण श्रृजना गरिदिनुहुन अनुरोध गर्दछौं । सो भएमा हामी चाँडै पहिले जस्तै काममा फर्किने पनि जानकारी गराउन चाहान्छौं ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us