
काठमाण्डु, ११ जेठ– नेपाली सेनाका एक जना कर्णेल (प्रमुख सेनानी) भ्रष्टाचार आरोपमा जेल गएका छन् ।
उदयपुरमा रहेको कालिसिद्धी गणका प्रमुख सेनानी केशवराज कार्कीलाई जंगीअड्डाले बर्खास्त गरेको हो । सैनिक जनरल समरी अदालतले भ्रष्टाचारमा संलग्न रहेको किटानसहित बर्खास्तीको निर्णय सुनाएको हो । यस्तै उनलाई तीन महिना जेलमा राख्न समेत आदेश भएको छ । उनलाई शुक्रबार सुन्धारास्थित केन्द्रीय कारागार चलान गरिएको छ ।
कार्कीले सरकारी कोषको ४९ लाख रुपैयाँ अनियमितता गरेको अभियोग लागेको छ ।
पूर्णचन्द्र थापा प्रधानसेनापति भएपछि सेनामा रहेका विकृति, विसंगतिविरुद्ध कठोर कदम चाल्दै आएका छन् । उनले सेनाभित्र भ्रष्टाचार हटाउने प्रतिबद्धता जाहेर गर्दै आएका छन् ।