
काठमाण्डु, ९ जेठ – सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालका लागि अमेरिकी राजदूतले सञ्चालन गर्न लागेको ‘जनतासँग गफगाफ’ कार्यक्रम कूटनीतिक मर्यादाभित्रै रहेर गर्नेमा सरकारले आशा राखेको बताएका छन् ।
राजदूत र्याण्डी बेरीले ‘राजदूतसँग गफगाफ’ कार्यक्रम चलाउने तयारी गरेपछि त्यो कुटनीतिक मर्यादाविपरीत हुने भन्दै आलोचना भइरहेको छ ।
मन्त्रिपरिषदका निर्णय सुनाउँदै प्रवक्ता बाँस्कोटाले भने, ‘कूटनीतिक प्रोटोकल, मान्यता र सहमति तथा मापदण्डभित्रै रहेर काम गर्नुहुन्छ होला भन्ने आशा राख्छौं ।’
उनले राजदूतले कार्यक्रम चलाउन लागेकोबारे सरकारको ध्यानाकर्षण भएको पनि बताए ।