
काठमाण्डु, ३० वैशाख – ३ नम्बर प्रदेशको प्रदेश सभा पहिलो पटक अवरुद्ध भएको छ । राजधानी र नामांकरणको विषयले संसदमा प्रवेश नपाएपछि नेपाली कांग्रेसले ३ नम्बर प्रदेश सभा अवरुद्ध गरेको हो ।
राजधानी र नामांकरणको विषय नटुङ्ग्याएसम्म संसद चल्न नदिने भन्दै नेपाली कांग्रेसले ३ नम्बर प्रदेश सभा अवरुद्ध गरेको कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाले बताए । यसअघि हिउँदे अधिवेशनमा राजधानीको विषयले प्रवेश पाउने भनिए पनि प्रवेश नपाउँदा प्रमुख प्रतिपक्षी दल आक्रामक बनेको थियो ।
दलका नेताले वर्षे अधिवेशनको शुभकामना मन्तव्य व्यक्त गरेपछि कांग्रेसले संसद अवरुद्ध गरेको हो । यसअघि सरकारका तर्फबाट संसदीय दलका उपनेता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले सरकार राजधानीको विषयमा गम्भीर रहेको बताएका थिए ।
नेपाली कांग्रेसले संसद अवरुद्ध गरेपछि मंगलबार ४ बजेसम्मका लागि संसद स्थगित गरिएको हो ।