
काठमाण्डु, २९ वैशाख – सरकारले विगत ५ महिनादेखि क्यान्सर रोगीहरुलाई दिँदै आएको एक लाख आर्थिक सहायता रोकिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौंधरीले बजेटको अभावमा ५ महिनादेखि क्यान्सर रोगीहरुलाई दिँइदै आएको १ लाख आर्थिक सहायता रोक्का गर्नु परेको स्पष्ट पारिन् ।
बजेटको अभाव भएकाले सरकारले हाललाई क्यान्सर रोगीहरुको सूची तयार पार्ने काम पनि स्थगित गरिएको सचिव चौंधरीले स्पष्ट पारिन् ।
आइतबार काठमाडौंमा आयोजित ‘विश्व आँखा क्यान्सर सचेतना सप्ताह’ कार्यक्रममा बोल्दै उनले आँखाको क्यान्सर रोगको उपचारको लागि पनि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गर्ने आश्वासन पनि दिइन् ।
सचिव चौंधरीले क्यान्सरजस्ता जटिल रोगहरुको उपचारका लागि सरकारले कम्तीमा पनि ५ लाख आर्थिक सहायता उपलब्ध गराउने प्रयास गरिरहेको बताइन् ।
आँखाको प्लाष्टिक शल्य चिकित्सासम्बन्धि नेपाली चिकित्सक समाजले तिलगंगा आँखा अस्पतालसँग सहकार्य गरेर सुरु गरिएको सो कार्यक्रममा आँखाको क्यान्सर र त्यसको रोकथामका विषयमा विस्तृत जानकारी दिइनेछ ।
कार्यक्रममा बोल्दै तिलगंगा अस्पतालका संस्थापक एवम् कार्यकारी निर्देशक डा. सन्दुक रुइतले आँखाको क्यान्सर र त्यसको रोकथामका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।