
काठमाण्डु, २९ वैशाख – प्रतिपक्षी दल नेपाली कांग्रेसले वृद्ध भत्ताको उमेर ६५ वर्षमा झार्न संसद्मा प्रस्ताव गरेको छ ।
आर्थिक वर्ष २०७६/०७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता(पूर्व बजेट) छलफलमा भाग लिँदै आइतवार कांग्रेसका सांसद एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पूर्ववर्ती शेरबहादुर देउवा सरकारले गरेको ६५ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने प्रस्ताव कार्यान्वयन गर्न आग्रह गरेका हुन् ।
‘शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाली जनताको हितलाई केन्द्रबिन्दुमा राखेर ६५ वर्षको उमेरलाई वृद्धभत्ता दिने व्यवस्थालाई यो सरकारले पूर्वाग्रहको आधारमा हटाएको छ । ५२ जिल्लामा औसत आयु ६५ वर्षभन्दा कम छ । नेपाली जनताको हितलाई केन्द्रमा राखिएको कार्यक्रमलाई राखियोस्, पूर्वाग्रहको दण्ड नचलाइयोस् भनेर आग्रह गर्न चाहन्छु,’ कार्कीले प्रतिनिधि सभामा भने ।
सरकारले संसद्मा पेश गरेको बजेटका सिद्धान्तले मुलुकका आर्थिक चुनौतीलाई सम्बोधन गर्नुको सट्टा प्रशंसा मात्र गरेको उनको आरोप छ । ‘प्रतिशतका आधारमा व्यापार घाटा २२ प्रतिशत बढेको छ ।
आर्थिक वर्षको अन्त्यसम्ममा बजेट घाटा बढेर १४ खर्ब ३० अर्ब पुग्ने अनुमान गरिएको छ, बजेटको हाराहारीमा हुने अनुमान छ,’ कार्कीले भने, ‘मुलुकको ढुकुटीको चावी बोकेका अर्थमन्त्रीले राजनीतिक आग्रहरपूर्वाग्रहबाट माथि उठन जरुरी छ ।’
२०७४ साल चैतमा श्वेतपत्र जारी गर्दै देशको ढुकुटी रित्तो भएको बताएका अर्थमन्त्रीले अहिले तीन वर्षदेखि नेपालले ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको भनेर अन्तर्राष्ट्रिय मञ्चमा भाषण गरेको विषय उद्धृत गर्दै कार्कीले एउटै तथ्याङ्कलाई फरक ढंगले प्रस्तुत गरेको टिप्पणी गरे ।