कहिले सकिएला चापागाउँ –सातदोबाटो सडककाे मर्मत ?

काठमाण्डु टुडे २०७६ वैशाख २७ गते १७:२५ मा प्रकाशित

ललितपुर, २७ वैशाख – तीन वर्षदेखि अलपत्र अवस्थामा रहेको चापागाउँ –सातदोबाटो सडक अबको हप्ता दिनभित्र मर्मत हुने भएको छ ।

लामो समयदेखि धुवाँधुलो र हिलाले आजित चापागाउँबासीले बिहीबार र आज क्रमशः एक र दुई घण्टा यातायात अवरुद्ध पारी आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन् ।

विगतमा त्यो सडक निर्माणको ठेक्का कन्ट्रयाक्ट निर्माण प्रालिले लिएको थियो । हाल विभिन्न कारण देखाई ठेक्का लिएको सडक मर्मतको काम ठेकेदारले गर्ने जिम्मेवारीबाट पन्छन चाहे तापनि उसैबाट काम अघि बढाइने गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए । ‘सडक मर्मत र निर्माणको काम ९९ प्रतिशत अघि बढ्ने तयारी भइसकेको छ’, महर्जनले भने, ‘अबको एक हप्ताभित्र सडकको काम पक्कै अघि बढाउने छौँ ।’

नगरपालिकाले मन्त्रिपरिषद् र सम्बन्धित अन्य निकायलाई आफै साढे पाँच करोड रुपैयाँ खर्च गरी सडक मर्मत र विस्तारको काम गर्ने चुनौती पटक–पटक दिएसँगै उनीहरुले तत्काल गराउने सकारात्मक जवाफ दिएको महर्जनले बताए ।

सडक मर्मतको काम तत्काल शुरु नभए शनिबारदेखि अनिश्चितकालीन सडक बन्द गर्ने चेतावनी स्थानीयवासीले नगरपालिका प्रमुखलाई दिएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us