असन्तुष्ट नेताले बाबुरामलाई भेटेर के भने ?

काठमाण्डु टुडे २०७६ वैशाख २६ गते १५:१३ मा प्रकाशित

काठमाण्डु, २६ वैशाख – संघीय समाजवादी फोरमसँगको एकतामा असन्तुष्ट नेताले नयाँ शक्तिका तत्कालीन संयोजक डा. बाबुराम भट्टराईलाई ज्ञापनपत्र बुझाएका छन् ।

पार्टीमा छलफलबिना एकता भएको, नयाँ शक्तिका नेतामाथि अपमान भएको, पार्टी लोकतान्त्रिक विधि विपरित सञ्चालन भएकोप्रति आपत्ति जनाउँदै नयाँ शक्तिका असन्तुष्ट नेताले भट्टराईलाई बिहीबार ज्ञापनपत्र बुझाएका हुन् ।

असन्तुष्ट नेतृ कल्पना धमलाले विज्ञप्ति पढेर सुनाएपछि बाबुरामले सार हेर्दा आफूलाई पनि हस्ताक्षर गरौँ–गरौँ लागेको प्रतिक्रिया दिएका छन् ।

‘माओवादीबाट नयाँ शक्तिमा आउँदा लोकतान्त्रिक बहस हुन्छ भन्ने सोचेकी थिएँ’, नेतृ धमलाले बाबुरामलाई प्रश्न गर्दै भनिन्, ‘पार्टी लोकतान्त्रिकरण नहुँदा अपमान महसुस भइराखेको छ । पार्टी एकता हुँदा किन छलफल हुन सकेन ?’

ज्ञापनपत्र बुझाउन गएका नेतासँग बाबुरामले पार्टी एकताका क्रममा फोरमकै कारण छलफलमा जान नसकिएको स्वीकार गरेका छन् । ‘छलफलमा जाँदा एकता नहुने । भइरहेको पार्टी पनि जोगाउन नसक्ने स्थिति भएपछि एकता गरिएको हो’, बाबुरामले भने, ‘पार्टी एकताको क्रममा कमिकमजोरी भएका छन् । विशेष कारणले छलफल गर्न सकिएन । अब छलफल गरेर समस्याको समाधान गर्नुपर्छ ।’

असन्तुष्ट नेता मदन राईले एकतामा परिवारवाद र नक्सलवाद हाबी भएको भन्दै बाबुरामप्रति आक्रोश व्यक्त गरे । ‘हामी बाबुराम भट्टराई भन्दै हिड्यौँ । तर, तपाईंले हामीलाई बिर्सनुभयो’, राईले भने, ‘पार्टी एकतामा परिवारवाद र नक्सलवाद हाबी भो ।’

सबै असन्तुष्ट नेताको कुरा सुनेका बाबुरामले अब छलफल गरेर निष्कर्षमा पुग्न सकिने बताए । उनले यो विषयलाई मिडियाबाजी गर्नुभन्दा छलफलमा बसेर अगाडि बढ्नसमेत आग्रह गरेका छन् ।

‘कमीकमजोरी भएको कुरा स्वीकार गरेको छु’, बाबुरामले भने, ‘यसको समाधान मिडियाबाजी होइन । बसेर समस्याको समाधान निकाल्नुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us