सरकारलाई गगनको सुझाव: ‘समृद्ध दमक, सुखी केपी ओली’ नारा राखोस्

काठमाण्डु टुडे २०७६ वैशाख २३ गते १४:२६ मा प्रकाशित

काठमाण्डु, २३ वैशाख – नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने क्रममा सरकारले चालीसवटा बुँदामा झुटा कुरा प्रस्तुत गरेको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि भएको छलफलमा भाग लिँदै कांग्रेस नेतासमेत रहेका थापाले सरकारले सपना देख्ने क्षमता पनि राख्न नसकेको जिकिर गरे ।

‘सरकारले सपना देख्ने क्षमता पनि राख्न सकेन । राष्टपतिलाई राजाको भद्दा नक्कल गर्न उक्साइयो’, उनले भने, ‘संघीयता कार्यान्वयनका लागि बनाउने कानुन नियम ल्याएन । स्रोत र साधन कसेर राख्यो, मुख्य मन्त्रीलाई अञ्चलाधिश जस्तो व्यवहार गर्यो ।’

नेता थापाले प्रधानमन्त्री आफैँले भ्रष्टाचार गर्दिन भनेर कसम खाएर १०१ काण्ड मच्चाएको आरोप लगाए । ‘भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न भनेर प्रधानमन्त्रीले १०१ काण्ड मच्चाए’, उनले भने, ‘चटकहरुबाट चमत्कार हुन्छ भन्ने नीति नै हो सरकारको । मैले यहाँ उठाएका प्रश्नका उत्तर आउँदैनन् गाली आउँछन् ।’

प्रधानमन्त्रीको सचिवालयबाट दमक नगरपालिकालाई विभिन्न शीर्षकमा योजना छुट्याउन दिएको निर्देशको गगनले कडा निन्दा गरे ।

‘प्रधानमन्त्री दमकका मात्रै रहेछन्, सरकारले अब मूल नारा फेरोस्’, ‘समृद्ध दमक सुखी, केपी ओली भनेर सरकारले आफ्नो मूल नारा राखोस् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us