संसदमा आयो राष्ट्रपतिलाई ‘बडामहारानी’ बनाउने प्रस्ताव !

काठमाण्डु टुडे २०७६ वैशाख २३ गते १३:४० मा प्रकाशित

काठमाण्डु, २३ वैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी एक जना सांसदले संविधान संशोधन गरेर राष्ट्रपतिलाई ‘बडामहारानी’ भनेर संशोधन गर्न चुनौती दिएकी छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि आइतबार संसद्मा भएको छलफलका क्रममा कांग्रेस सांसद् लक्ष्मी परियारले राष्ट्रपतिलाई बडामहारानी भनेर संबोधन गर्छौं भनी संविधान संशोधन गर्न चुनौती दिएकी हुन् ।

‘सरकार पक्षका माननीयज्यूहरूले गलत भएको कुरालाई ढाकछोपका लागि अनेक प्रयत्न गर्नुभयो । राष्ट्रपतिज्यूबाट सम्बोधनमा जुन ‘मेरो सरकार’ भन्ने कुरा आएको छ, हामीले जनताको भाषा बोलेका हौं । नेपाली जनताले नरुचाएको भाषामा र नीति तथा कार्यक्रममा संशोधन हालेका हौं,’ सांसद परियारले भनिन्, ‘बुद्धिजीवी नागरिक समाजले चोकचोकमा मेरो सरकार भन्न हुँदैनथ्यो भन्नुभएको छ । हामीले संशोधन हाल्दा यहाँहरू (सत्तापक्षीय सांसद)को टाउको दुखेर, पेट दुखेर, नसानसाबाट उम्लेर आएको देख्दा छक्क परेर यो ठाउँमा उभिएर कुरा गर्दैछु, यदि यो कुरा गर्दा तपाईंहरूलाई आपत्ति लाग्छ भने तपाइहरूसँग दुईतिहाइ मत छ, संविधानमा थप्नुहोस्, हाम्रो कार्यकालमा राष्ट्रपतिलाई बडामहारानी भन्छौं भनेर थप्नुस्, हाम्रो शुभकामना छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us