नागरिकता दिनेहरू पनि इण्डियनहरू हो ?: महन्थ ठाकुर

'नागरिकताको कुरा सुन्नासाथ दम घट्छ'

काठमाण्डु टुडे २०७६ वैशाख २३ गते १२:२१ मा प्रकाशित

काठमाण्डु, २३ वैशाख – राष्ट्रिय जनता पार्टी नेपालका संसदीय दलका नेता महन्थ ठाकुरले संघीय संसदमा नीति तथा कार्यक्रमको छलफलमा नागरिकताको प्रश्न उठाएका छन् । ठाकुरले नागरिकता लिन भारतीयको लाइन हुन्छ भन्ने प्रचारको खण्डन गरे ।

‘लाइनमा भारतीय हुन्छ तर दिने कुर्सीमा को बसेको हुन्छ’, ठाकुरले प्रश्न गरे, ‘गृह मन्त्रालयमा को बसेको छ ? त्यहाँ पनि इण्डियनहरू नै हो ? नागरिकता दिनेहरू पनि इण्डियनहरू हो ? उनीहरूले आफ्नो नागरिकलाई चिनिरहेको छैन ?’

उनले नागरिकताको कुरा सुन्नासाथ दम घट्ने बताए । ‘नागरिकताको कुरा सुन्नासाथ दम घट्छ । सास लिने अवस्था हुँदैन । आफ्नै घरमा खेत र खलियानमा हामीले विदेशीको पीडा खेप्नु परिरहेको छ । कृपया यस किसिमको प्रश्न उठाउँदा पुरानो ‘माइण्ड’मा प्रश्न उठाउनुपर्छ । यहाँ त ब्रदरका लागि एउटा कानुन छ सिस्टरका लागि एउटा कानुन छ । मधेसीका लागि एउटा कानुन छ,’उनले भने ।

ठाकुरले थपे, ‘के हाम्रो दोष हो कि म मधेसी परिवारमा जन्म लिएको । त्यो बदल्न सकिन्छ ! पहाडमा जन्मिएको भए पहाडी परिवार हुन्थ्यो । मेरो पनि भाग्य हुन्थ्यो सौभाग्य हुन्थ्यो नेपाली भन्ने । तर मधेसी परिवारमा जन्म लिएको हुँ मधेसी भन्नुहुन्छ । अनि अहिलेसम्म त्यो विभेद हटेको छैन । मेटिएको छैन । समानताको कुरा गर्नुहुन्छ तर समानता छ । विभेद जारी छ ।’ उनले भने, ‘अनुहार हेरेर, ड्रेस हेरेर, एउटा भाषामा राष्ट्रियता हेर्ने अनि विविधतापूर्ण देश भन्ने ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us