
काठमाण्डु, २२ बैशाख – नेपाल वायुसेवा निगमले जापानको ओसाका उडानको अनुमती पाएपछि जापानकै नारिता उडानको तयारी गरेको जनाएको छ ।
नारिता अन्तर्रा्ष्ट्रिय विमानस्थल कार्यालयमा निगमले साताको तीन दिन उडान अनुमति मागिसकेको छ । मंगलबार, बिहीबार र शनिबार नारिता उडान भर्ने गरी प्रक्रिया सुरु गरिसकेको निगम स्रोतले जनाएको छ ।
ओसाका विमानस्थलमा उडान अनुमति पाएको निगमले नारिताका लागि पनि अनुमति पाएमा साताको दुई–दुई उडान गर्नेछ । पहिला नै तयारी गरिएको दुई दिनमा मात्र उडान हुन्छ । दुवै क्षेत्रमा तीन–तीन दिन उडान भर्दा व्यवस्थापनमा समस्या आउने भन्दै दुई दिन बनाइएको हो ।
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ६ घण्टा ३० मिनेटमा जापानको ओसाकामा पुग्न सकिन्छ ।
काठमाण्डुबाट बिहान २ बजेर ३० मिनेटमा ओसाकाका लागि उडेको विमान स्थानीय समयअनुसार दिनको ११ बजेर ५५ मिनेटमा ओसाका पुग्नेछ र ओसाकाबाट स्थानीय समयअनुसार १ बजेर ५५ मिनेटमा उडान गरी सोही दिन अपराह्न ६ः०० बजे काठमाण्डु आइपुग्नेछ । शुक्रबार निगमले प्रेस विज्ञप्ति जारी गर्दै सन् २००७ साल पछि पुनः जापान उडान हुन लागेको जनाएको हो ।