
काठमाण्डु, २२ वैशाख – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले स्वप्नद्रष्टा बन्ने धाउन्नमा सरकारले भुइँ छोडेको बताएका छन् ।
सरकारले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रमको छलफलमा आइतबार रिजालले सरकारले प्रस्तुत गरेका आश्वासन र आँकडा वास्तविकताभन्दा रहेको बताए ।
‘सरकार स्वप्नद्रष्टा हुनुपर्छ। तर आत्मप्रंशसामा रमाउने हुनुहुन्न,’ रिजालले भने, ‘यही संसदमा एक वर्षअघि सँगै हिन्द महासागरमा जाउँला भनेर निमन्त्रणा दिने सांसदलाई पनि सम्झन चाहन्छु। हिन्दमहासागर जाने सपना कहाँ पुग्यो ?’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले नै २०१८ भित्र पानीजहाज ल्याउँछु भनेकाले २०१८ को अन्तिम दिन पानीजहाज कहाँ रैछ भनेर हनुमाननगरमा हेर्न गएको बताए ।
‘एक महिनापछि यहाँ टिकट बेच्ने कार्यालय खुलेको खबर पाएँ । पानीजहाजको कार्यालय खोलेर पानीजहाज हिन्द महासागरसम्म पुग्दैन,’ रिजालले भने, ‘हामी भुइँमा टेक्यौं ।’
यसअघि गत वर्षको नीति तथा कार्यक्रमको छलफलमा बोल्दै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पानीजहाजमा हिन्दमहासागर जान निम्तो दिएका थिए ।
‘हत्तपत्त नाउ चढ्न नपाउने पहाडबाट आएको म अचेल कोशी हुँदै गंगा हुँदै हिन्द महासागर पुगेको सपना देख्न थालेको छु । यस्तो सपना देख्नु अचम्म होर ,’ नेम्वाङले भनेका थिए,‘ कोशीबाट पानीजहाज चढेर महासागर जान अहिले नै आग्रह गर्छु । निम्ता गर्छु म संशोधन राख्ने मेरा माननीय मित्र मीनेन्द्रलाई । तपाईंकै मोरङ, सुनसरी छेउबाट हामी पानीजहाज चढेर किन नजाने ?’