चीनले गर्यो क्यानडेली नागरिकमाथि मृत्युदण्डको फैसला

काठमाण्डु टुडे २०७६ वैशाख १७ गते १७:२३ मा प्रकाशित

एजेन्सी – चीनले एक क्यानडेली नागरिकलाई मृत्युदण्डको फैसला सुनाएको छ ।

क्यानडासँग चीनको सम्बन्ध चिसिएका बेला चीनले क्यानडाको नागरिकमाथि मृत्युदण्डको फैसला सुनाएको हो । क्यानडाका नागरिकले यसवर्ष मृत्युदण्डको सजाय पाएको यो दोस्रो पटक हो ।

मृत्युदण्डको सजाय पाएका पहिलो क्यानडेली नागरिक र अहिलेका नागरिक दुवै अवैध लागुपदार्थ तस्करीका क्रममा चीनमा पक्राउ परेका थिए ।

मंगलबार विभिन्न अपराधमा संलग्न विभिन्न देशका नागरिकलाई चीनको अदालतले जेलको सजाय तोकेको थियो ।
११ जनामध्ये क्यानडेली नागरिकले मात्र मृत्युदण्डको सजाय पाएका हुन् । १ अमेरिकी तथा ४ मेक्सिकोका नागरिकमाथि जन्मकैद या मृत्युदण्डको सजाय दिने विषय अझै विचाराधिन छ ।

गतवर्षको डिसेम्बर महिनादेखि चिनियाँ प्रविधि कम्पनी हुवावेका वित्त प्रमुख मेङ्ग वान्जुलाई क्यानडाले नियन्त्रणमा लिएको छ । अमेरिकी आग्रहमा वान्जुलाई नियन्त्रणमा लिइएको हो । इरानमाथि लागेको अमेरिकी प्रतिबन्ध हुवावेले तोडेको आरोप लागेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us