
काठमाण्डु, १७ वैशाख – डा बाबुराम भट्टराई नेतृत्वको नेतृत्वको नयाँशक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच पार्टी एकताको तयारी अन्तिम चरणमा पुगेको छ ।
भित्रभित्रै अगाडि बढाइएको एकता वार्ताले सफलता पाउने नपाउने यसै हप्ता टुङ्गो लागिसक्ने जानकारी एकता वार्तामा सहभागी दुबै दलका नेताहरुले दिएका छन् ।
अबको केहीदिन भित्रनै पार्टी एकता घोषणा गर्ने तयारी दुई पार्टीको छ । यादव ले पार्टी एकताको अन्तिम तयारी गर्ने जिम्मेवारी शहरी विकास मन्त्री समेत रहेका नेता मोहम्मद इस्तीयाक राईलाई दिएका छन् भने भट्टराईले गङ्गा श्रेष्ठलाई जिम्मेवारी दिएका छन् ।
नेतृत्वका विषयमा यादव र भट्टराई दुवैले एकअर्कालाई सम्मान हुने गरी निर्णय लिएका छन् । पार्टी एकताका लागि छलफलमा जुटेका दुवै दलका दोस्रो तहका नेताले एकताको खाका यादव र भट्टराईलाई बुझाएका छन् ।
अघिल्लो बर्ष भएको स्थानीय निर्वाचन लगत्तै सुरु भएको एकता प्रयासले सफलता नपाएपछि दुबै दल झण्डै साढे एक बर्ष एकताको सम्बन्धमा निस्क्रिय जस्तै थिए ।
तर, केही अघिदेखि फेरि एकताको प्रयास सुरु भएको र एकताका लागि पहिले भन्दा सकरात्मक स्थिति बन्दै गएको जानकारी स्रोतहरुले दिएका छन् ।