
काठमाण्डु, १५ वैशाख – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकारहरुलाई पक्राउ गर्ने काम भईरहेको उल्लेख गर्दै सरकारको चर्को आलोचना गरेका छन् । सभापति देउवाले पत्रकाहरुलाई अदालत परिसरभित्रै गएर पक्राउ गर्ने काम सरकारले गरिरहेकोमा आपत्ति जनाएका हुन् ।
आइतबार नेपाल पत्रकार महासंघको नेतृत्वले आफ्नै निवास बुढानिलकण्ठमा पुगेर बुझाएको ज्ञापन पत्र बुझ्दै देउवाले अदालत परिसरभित्र गएर पत्रकारहरुलाई पक्राउ गर्नै नमिल्ने पनि स्पष्ट पारे । सभापति देउवाले आफ्नो पार्टी प्रेस र अभिव्यक्ति स्वतन्त्रको पक्षमा सदैव उभिएको दावी पनि गरे ।
यस विषयमा संसदमा कुरा उठाउने प्रतिबद्धतासमेत देउवाले जनाएको महासंघका सचिव रामप्रसाद दाहालले जानकारी बताए ।
उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो पार्टी लडिरहने प्रतिवद्धता पनि व्यक्त गरे । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको लागि अनिवार्य शर्त भएकाले आफ्नो पार्टीले त्यसको विपक्षमा सोच्न पनि नसक्ने सभापति देउवाको भनाई छ ।
सभापति देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नेपाल पत्रकार महासंघले सुरु गरेको आन्दोलनमा आफ्नो पार्टीको साथ रहने पनि बताए । महासंघका अध्यक्ष गोविन्द आचार्य नेतृत्वको टोलीले सभापति देउवालाई बुझाएको ज्ञापन पत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुने गरी कानुन, नीति, नियम तय गर्न सरकारको ध्यानाकर्षण गराउन आग्रह गरिएको छ ।
गत आइतबार पत्रकार जितेन्द्र महर्जन रिहा हुनासाथ सर्वोच्च अदालतको गेटबाटै पुनः पक्राउ थिए । उनको रिहाईको माग गर्दै महासंघको टोली ज्ञापनपत्र बुझाउन देउवा निवास पुगेका हुन् ।