मेलम्चीको बाँकी काम छिट्टै अघि बढ्छः बिना मगर

काठमाण्डु टुडे २०७६ वैशाख ५ गते १६:१९ मा प्रकाशित

काठमाण्डु, ५ बैशाख – खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाउन देखिएको समस्या छिट्टै समाधान गर्ने बताएकी छन् ।

बिहीबार काठमाण्डु उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको उचित व्यवस्थापन हुनेगरी अन्य कामलाई अघि बढाउन पनि मातहतका निकायलाई सचेत गराइन् ।

उनले काठमाण्डु उपत्यकामा रहेका ढुंगेधारा, तलाउ, पोखरीहरुको संरक्षणको काममा जुटन पनि मातहतको निकायलाई कडा निर्देशन दिइन् । मन्त्री मगरले काठमाण्डु उपत्यकामा खानेपानीको व्यवस्थापनको काममा खटिएका निकायहरुले त्यसको त्यसको सदुपयोग भए–नभएको विषयमा पनि विशेष निगरानी राख्नुपर्ने आवश्यक्ता पनि औँल्याइन् ।

कार्यक्रममा बोल्दै खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले गुणस्तरीय खानेपानीको व्यवस्थापन हुने गरी आवश्यक मापदण्डसहितको कानुन निर्माणको कामलाई अघि बढाइएको बताए । उनले जनताको स्वच्छ खानेपानी पिउने अधिकारलाई सुरक्षित गराउन आवश्यक प्रविधि भित्र्याउनुपर्नेमा पनि जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us