फोरम र राजपालाई सिके राउतले दलाल भनेपछि…

काठमाण्डु टुडे २०७६ वैशाख ५ गते १५:४४ मा प्रकाशित

काठमाण्डु, ५ बैशाख – राष्ट्रिय जनमत पार्टीका अध्यक्ष सिके राउत प्रदेश २ सरकारको नेतृत्व गरेको समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालप्रति आक्रामक देखिएका छन् ।

स्वतन्त्र मधेशको माग गर्दै आन्दोलन गरेका राउत मुलधारको राजनीतिमा आएदेखि मधेश केन्द्रीत दलमाथि उनी आक्रमक बनेका हुन् । राउतले मधेसवादी दलका नेताहरुलाई ‘दलाल’ भनेर सम्बोधन गरेका छन् ।

उनीहरुलाई मधेशबाट मत लिएर ओली नेतृत्वको सरकारमा सहभागी भएको भन्दै राउतले आफ्नो फेसबुकमा लेखेका छन्– ‘६० जना मधेशीलाई हत्या भनेर जुन एमाले/ओलीकाविरुद्धमा मधेशी जनतासँग दलाल पार्टीले भोट माग्यो, त्यही एमाले÷ओलीको प्रधानमन्त्री बनाउन मतदान गर्न हात कापेन ?’

६० सहिदको हत्यारा र मधेशी विरोधी ओलीलाई मतदान नगर्न भन्दै मधेशी नेताले एमालेलाई मधेशबाट सफा गरि एमालेमुक्त मधेश बनाउने भन्दै मत मागेको आरोप लगाउँदै राउतले मधेशी जनतालाई ठगेर ओली सरकारलाई मत दिएको आरोप पनि लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनकपुरमा स्वागत गरेको विषयमा पनि राउतले विरोध गरेका छन् । माग पूरा नभएसम्म काठमाण्डु नफर्किने र वार्ता मधेशमै हुने भनेका मधेशवादी दलका नेताहरुले ओलीको एक फोनमा काठमाण्डु फर्केको विषयमा पनि टिप्पणी गरेका छन् ।

स्वतन्त्र मधेश गठबन्धनले ओलीको साथमा होइन, सरकारको साथमा सम्झौता गरेको दावी गर्दै राउतले दलाल पार्टीको जस्तो गुपचुप अध्याँरो कोठामा सम्झौता नगरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले मधेशवादी दलका नेतालाई नबोलाएको कारण आफूमाथि रिस पोखेको राउतको दाबी छ ।

 

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us