टिकट लिएका भिआइपी र यात्रुहरु विमानस्थलभित्रै बस्नुसः एयरलाइन्स

काठमाण्डु टुडे २०७६ वैशाख ५ गते १३:२० मा प्रकाशित

काठमाण्डु, ५ बैशाख – एयरलाइन्स सञ्चालकहरुले सर्वसधारण यात्रु तथा भिआइपीहरुलाई चेकइन गरिसकेपछि विमानस्थल बाहिर ननिस्कन अनुरोध गरेका छन् ।

एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपालले आज एक प्रेस विज्ञप्ती जारी गर्दै पछिल्लो समय काठमाण्डु विमानस्थल मर्मतका कारण उडान तालिका साँघुरो भएको र मौसमी खराबीले उडान ढिला हुनसक्ने भएपनि तोकिएकै ठाउँमा बसिदिन आग्रह गरेको हो ।

भैरहवाबाट काठमाण्डु आउनेक्रममा सञ्चार मन्त्री गोकुल बाँस्कोटाको उडान छुटेको सार्वजनिक भएपछि बुद्ध एयरले विज्ञप्ती जारी गरेर प्रष्टिकरण दिएको थियो ।

काठमाण्डु विमानस्थल मर्मतका कारण एयरलाइन्सहरुले २० प्रतिशत उडान कटौति गरेको सन्दर्भमा व्यवस्थापनमा चुनौति थपिएको र यस्तोमा सबैको सहयोगको अपेक्षा गरेको संघले बताएको छ ।

तोकिएको ठाउँमा बस्दा उडान समयमै गर्न पनि सजिलो हुने भएको संघको भनाइ छ । सञ्चार मन्त्री विमानस्थलबाट होटल गएको बेला उडान छुटेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us