कास्की, २२ फागुन – प्याराग्लाइडिङ कम्पनीहरुले पोखरा महानगरपालिकालाई कर तिर्न सहमत भएपछि बन्द गर्ने भनिएको प्याराग्लाइडिङ उडानमा अवरोध नहुने भएको छ ।
पोखरा महानगरपालिका र हवाई खेलकुद संस्था, नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ संघको संयुक्त प्रयासपछि व्यवसायीहरुले एक साताभित्रै एकैपटक चार वर्षको कर बुझाउन तयार भएका हुन् ।
आर्थिक वर्ष २०७२/०७३ देखि प्याराग्लाइडिङ कम्पनीहरुले महानगरले तोकेको ८६ हजार रुपैयाँ कर नबुझाएको राजश्व शाखाका रोम उपाध्यायले जानकारी दिए । अहिलेसम्म एउटा मात्र कम्पनी महानगरमा दर्ता छ । महानगरले आर्थिक बर्ष २०७२/०७३ र २०७३/०७४ मा ५ हजार ५ सयका दरले कर तोकेको थियो भने २०७४/०७५ मा ५० हजार तथा २०७५/०७६ मा २५ हजार रुपैयाँ शुल्क तोकेको थियो । एक सातासम्म पनि कर नतिरे प्याराग्लाईडिङ बन्द गराउने महानगरले जनाएको छ ।
उता नागरिक उड्ययन प्राधिकरण पोखराले भने दिनहुँ दुर्घटना भएपछि सोलो उडानमा रोक लगाएको छ । अर्को सूचना जारी नहुँदासम्म सोलो उडान रोकिएको प्राधिकरण पोखराका सूचना अधिकारी काशीनाथ पौडेलले जानकारी दिए ।