
काठमाण्डु, २१ चैत – संविधानसभा बैठक आज बस्दैछ ।संविधानसभा भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा संसद सचिवालयले हिजो तयार पारेको संविधान निर्माण कार्यतालिकाको विषयमा छलफल हुनेछ ।
विहिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद सचिवायलयले १ वर्ष भित्र संविधान निर्माण गर्ने गरि मस्यौदा पेश गरेको थियो ।
सचिवालयले पेश गरेको कार्यतालिका अनुमोदन गर्न आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । समितिको बैठकमा कार्यतालिकाका विषयमा आबश्यक छलफल र निर्णय गर्ने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए ।
संसद सचिवालयले हिजो पेश गरेको कार्यतालिकामा समिति सदस्यहरुले पार्टीमा छलफल गर्न माग गरेपछि समितिको बैठक आज बस्ने गरि स्थगित भएको थियो । सचिवालयले पेश गरेको कार्यतालिकाअनुसार आउँदो कात्तिकभित्र नयाँ संविधानको प्रारम्भिक मस्यौदा तयार पार्ने उल्लेख छ ।
यस्तै वैशाख १५ गतेभित्र विषयगत समितिका सभापतिहरु छानिसक्ने सचिवालयको प्रस्ताव छ ।
विघटित संविधानसभाको अभिलेख अध्यायन जेठ मसान्तसम्म गर्ने, संवाद समितिमार्फत विवाद समाधान प्रयास भदौसम्म गरिसक्ने, सहमतिका विषयमा मस्यौदा निर्माणमा जारी निरन्तर रहने, सहमति हुन नसकेका विषयमा संविधानसभाको निर्णय अजोससम्म गर्ने प्रस्ताब गरिएको छ ।
यस्तै नयाँ संविधानको पहिलो मस्यौदा परिमार्जन पुससम्म गर्ने , संशोधन÷दफाबार छलफल र पारित पुस मसान्तभित्र र नयाँ संविधान प्रमाणित र घोषणा माघको पहिलो साताभित्र गरिसक्ने प्रस्ताब समितिले गरेको छ ।
समितिको कार्यतालिका अनुमोदन भएपछि संविधान निर्माणको औपचारिक प्रक्रिया सुरु हुने र विषयगत रुपमा छलफल प्रारम्भ हुने संसद सचिवालयले जनाएको छ ।