
भैरहवा, १६ चैत – नेपाल पर्यटन कार्यालय भैरहवाले यस क्षेत्रमा पर्यटन विकासका लागि विभिन्न पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम गरिरहेको छ ।
दुई अञ्चल लुम्बिनी र राप्तीमा रहेका पर्यटनसम्बन्धी क्रियाकलापमा संलग्न भएर स्थानीयसँग सहकार्य गरिरहेको यो कार्यालयले विगत केही वर्षदेखि होमस्टे कार्यक्रमलाई पनि स्थानीयस्तरमा उपयोगी बनाउनका लागि विभिन्न किसिमका अध्ययन भम्रण गरेको देखिन्छ ।
स्थानीयस्तरमा पर्यटकलार्ई बसोबासको व्यवस्था गर्नका लागि स्थानीयले नै आफ्नो घरमा बास बस्ने व्यवस्था गर्नु नै होमस्टे भएकाले यसको ज्ञान लुम्बिनी र राप्ती अञ्चलका स्थानीयमा दिनका लागि प्रतिनिधित्वमूलक तालिम र जनचेतना अभिबृद्धि पर्यटन कार्यालय भैरहवाले गरिरहेको जानकारी दिएको छ ।
कार्यालयले यस क्षेत्रका सबै सम्भावित गाउँमा होमस्टेको अवलोकन गरी स्थानीयलाई सञ्चालनमा आएका अन्य होमस्टेकोसमेत अवलोकन भ्रमण गराएको पाइन्छ ।
निजी र सामुदायिक होमस्टेको अवधारणा नेपालमा रहेकोमा लगभग दुई दर्जनभन्दा बढी होमस्टे हाल देशभरि सञ्चालनमा रहेको पर्यटन कार्यालय भैरहवाको अभिलेखमा देखिन्छ ।
निम्नस्तरका जनताको आर्थिक जीवनस्तर उकास्नका लागि ल्याइएको सो अवधारणाबाट स्थानीयस्तरमा राम्रो प्रभाव पारेको जानकार बताउछन् ।
‘सँगै खाउँ सँगैै बसाँै र सँगै रमाइलो गरौँ’ भन्ने उद्देश्य बोकेको होमस्टे कार्यक्रममा स्थानीयस्तरको झल्को दिने र स्थानीय रूपमा घुलमिल गराउनु र धेरै दिनसम्म पर्यटकलाई स्थानीय संस्कृतिमा रमाउन सक्ने बनाउने उदेश्य भएको पर्यटन कार्यालय भैरहवाका प्रमुख लेखनाथ न्यौपानेले बताए ।
पर्यटन कार्यालय भैरहवाअन्तर्गत निजी नौ वटा र तीन वटा सामुदायिक होमस्टे दर्ता भएका छन् ।
यस क्षेत्रअन्तर्गत पाल्पामा सबैभन्दा धेरै दर्ता रहेका छन् भने नवलपरासी र गुल्मीमा एक/एक वटा दर्ता रहेका छन् ।
सामान्यतया होमस्टे सञ्चालन गर्नका लागि व्यक्तिको निजी घरमा सफासुग्घर हुनुपर्ने, चर्पी र नुहाउने ठाउँ हुनुपर्ने, स्थानीयस्तरमा उत्पादन भएको खानेकुरा खुवाउनु पर्ने सफा सुत्ने कोठा र स्थानीयस्तरमा उत्पादन भएका सबै चिजको मूल्यसूची सूचीकृत भएको हुनुपर्दछ ।
गाउँगाउँमा होमस्टे सञ्चालन गर्दा एकातिर स्थानीयस्तरमा आर्थिक विकास हुनुका साथै ग्रामीण क्षेत्रका बासिन्दाको व्यापारिक मानसिकताको विकास हुन्छ भने अर्कोतिर गाउँगाउँमा पुग्ने पर्यटकलाई बास बस्न र घुम्न समस्या हुँदैन