फोरजी विस्तार गर्न टेलिकमले गर्यो चिनियाँ कम्पनीसँग सम्झौता

काठमाण्डु टुडे २०७५ माघ २० गते १६:४२ मा प्रकाशित

काठमाण्डु, २० माघ – नेपाल टेलिकमले फोरजी/एलटीई सेवा देशभर विस्तारका लागि ठेक्का सम्झौता गरेको छ । टेलिकमले देशभर फोरजी विस्तारका लागि दुई चिनियाँ कम्पनीसँग सम्झौता गरेको हो ।

फोरजीरएलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क (र्‍यान)को लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता भएको टेलिकमले जानकारी दिएको छ ।

यस सम्बन्धी छुट्टाछुट्टै सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटीई तथा सीसीएसआईका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

नेपालभर ६५ लाख क्षमताको फोरजी÷एलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुई वटा र्‍यान नेटवर्क तयार गरिने सम्झौता भएको छ ।

र्‍यान नेटवर्क अन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिने छ । सम्झौता पश्चात् एक वर्ष भित्रमा परियोजना सम्पन्न हुने छ ।

नेपाल टेलिकमले मुलुक मै पहिलो पटक मिति २०७३ पौष १७ गते काठमाण्डु उपत्यका र पोखरामा फोरजी÷एलटीई सेवा सञ्चालन गरेको थियो । देशभर यो सेवा विस्तार भए पश्चात टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ओभरलेको रुपमा सञ्चालनगरेको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us