भरतपुर महानगरले जग्गा कित्ताकाट खुला गर्दैनः नगरप्रमुख दाहाल

काठमाण्डु टुडे २०७५ पुष ३० गते ११:०३ मा प्रकाशित

चितवन, ३० पुस – जग्गाको कित्ताकाट सम्बन्धमा केन्द्र सरकारले गरेको निर्णय लागु नगर्ने भरतपुर महानगरपालिकाले जनाएको छ ।

जग्गाको वर्गिकरणका आधारमा जग्गाको अंशबण्डा, किनबेच, प्लटिङको मापदण्ड स्थानीय तहले नै बनाउने उल्लेख गरिएको नीति अनुसार भरतपुरमा थप गृह कार्य गर्न आवश्यक रहेको भन्दै जग्गा कित्ताकाट रोकिएको हो ।

जग्गाको कित्ताकाट निर्णय भएसगैँ भरतपुरमा मनपरी तवरले भू–माफियाहरु सल्बलाएका कारण आफूहरुले स्पष्ट कार्ययोजना बनाएर मात्रै जग्गाको कित्ताकाट लागु गर्ने भरतपुर महानगरकी मेयर रेनु दाहालले जानकारी दिइन् ।

भरतपुरमा मात्र अव्यवस्थित तवरले प्लटिङ भएका कारण झण्डै २० प्रतिशत कृषि योग्य जमिन मासिएको कृषि कार्यालयको तथ्याङ्क छ ।

भरतपुरमा मनपरी तवरले पैसा खुवाएर जथभावी प्लटिङ भने तीव्र रुपमा भइरहेकोले यस्ता कार्यलाई रोक्न आफहरुुले बाध्यता भए जग्गा कित्ताकाट नखुलाउने निर्णय गरेको उनले स्पष्ट पारिन् ।

अव्यस्थित प्लटिङकै कारण चितवनमा भरतपुर विमानस्थल विस्तारमा समेत समस्या आएको छ । अन्य विकास पूर्वाधारका लागि जग्गा पाउनसमेत समस्या भइरहेको छ ।

साढे एक वर्षअघि भएको जग्गाको कित्ताकाट नेपाल सरकारले पुस २७ गतेबाट तत्काल लागू हुनेगरी खुला गरेको थियो । जग्गा खण्डिकरण रोक्ने उद्देश्यले २६ साउन २०७४ कित्ताकाट खारेज सम्बन्धी निर्णय भुमि व्यवस्था मन्त्रालयले हटाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us