जनकपुरधाम, ११ चैत – सूचना विभागद्वारा यही चैत २० गतेदेखि २२ गतेसम्म जनकुपरमा मध्यमाञ्चल विकास क्षेत्रीय सञ्चार घुम्ती सेवा शिविर सञ्चालन गरिने भएको छ ।
मध्यमाञ्चल विकास क्षेत्रका धनुषा, महोत्तरी, सिन्धुली, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लालाई समेट्ने गरी सञ्चालन हुने सो शिविरमा आम सञ्चार माध्यममा रहेका समस्या एवम् समाधानका उपाय पत्ता लगाउने र प्रेस प्रतिनिधि तथा पत्रकार परिचयपत्र वितरण, नवीकरण जस्ता सेवा प्रवाह गर्ने जनाइएको छ ।
विभागद्वारा मंगलबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा हेटौंडा सञ्चार केन्द्रका प्रमुख केशव बानियाँले शिविरमा विगतमा केन्द्रीय स्तरबाट विभिन्न सञ्चार सेवा प्रवाह गर्दै आएकोमा यस पटक स्थानीय स्तरबाट नै ती सेवा प्रवाह गर्ने लक्ष्य लिई क्षेत्रगत घुम्ती सञ्चार सेवा सञ्चालन गर्न लागिएको बताए ।
शिविरमा पत्रकार अन्तक्र्रिया र विद्युतीय तथा छापा माध्यममा आबद्ध पत्रकारलाई प्रेस प्रतिनिधि प्रमाणपत्र, पत्रकार परिचय पत्र, नवीकरण, संस्था परिवर्तन, प्रमाणपत्र प्रतिलिपि र पत्रिका स्थायी दर्ता सिफारिस जस्ता सेवासमेत प्रवाह गरिने जनाइएको छ ।